अबको ५/६ वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने क्षमता हुन्छ : घिसिङ

 मंसिर ७, २०७९ बुधबार १३:३७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत् उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताउनुभएको छ । 

आज बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै घिसिङले १५ वर्ष पूरा भएका जलविद्युत् आयोजनाहरू सम्पन्न हुन लागेकाले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत् उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताउनुभएको हो । घिसिङले अबको ५/६ वर्षमा १५ हजार मेगावाट जलविद्युत् उत्पादन क्षमता हुने बताउनुभयो । उहाँले १५ हजार मेगावाट विद्युत् उत्पादन पुग्दा झन्डै ५ अर्ब रुपैयाँ विद्युत् प्राधिकरणबाट राजस्व सङ्कलन हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यो वर्ष नै झन्डै ३ हजार मेगावाटको क्षमता हुन्छ नेपालमा । हामीले ५/६ वर्षभित्र झन्डै १०/१५ हजार मेगावाट क्षमता हुन्छ भनेर क्यालकुलेशन गरेका छाैँ । ३ हजार मेगावाटमात्रै भयो भने पनि झन्डै ५० अर्बको रोयल्टी तिर्दा रहेछौँ । १५ हजार मेगावाट बिजुली उत्पादन भयाे भने झन्डै ५ खर्ब रुपैयाँ हाइड्रोपावरको रोयल्टी र ट्याक्समात्रै आउने देखिन्छ ।’

प्रमुख कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाको प्रवर्द्धन गर्नसके राजस्वमा ठूलो योगदान पुग्ने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको ५ महिनामा बिजुली निर्यात गरेर ११ अर्ब रुपैयाँ आम्दानी गरेको पनि बताउनुभयाे । घिसिङले जलविद्युते देशको समृद्धिका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया