जगदम्बा इन्टरप्राइजेज बन्याे विद्युत् प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक

 मंसिर ९, २०७९ शुक्रबार १३:३१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै : बारा–पर्सा औद्योगिक काेरिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेज ४८ मेगावाटसम्म बिजुली लिन नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम र स्टिल उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप ४४ मेगावाट बिजुली लिन लागेको हो । उद्योगले अहिले झन्डै ४ मेगावाट बिजुली आपूर्ति लिइरहेको थियो ।

प्राधिकरणले परवानीपुर १३२ केभी सबस्टेशनबाट ६६ केभी प्रसारण लाइनमार्फत उद्योगलाई थप बिजुली आपूर्ति दिने छ । थप बिजुली आपूर्तिका लागि हिजाे बिहीवार उद्योग परिसरमा राखिएको ६६/११ केभी, ५० एमभीए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको छ ।

उद्योगले आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभीको स्विचयार्ड बनाएको छ । प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा बिहीवार स्विचयार्डको परीक्षण तथा सञ्चालन गरिएको हो ।

योसँगै जगदम्बा इन्टरप्राइजेज बिजुली आपूर्ति लिने सबैभन्दा ठूलो ग्राहक बनेको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताउनुभयो । ‘उद्योगले अहिले ४ दशमलव ८ एमभीएको लोड लिइरहेको थियो, थप ४४ एमभीए लोड दिनका लागि लाइन तथा ट्रान्सफर्मर परीक्षण सम्पन्न गरी क्रमशः स्वीकृति लोड बमोजिम थप बिजुली दिन सुरु गरिएको छ’, उहाँले भन्नुभयो, ‘स्वीकृति लोडअनुसार बिजुली लिएमा उद्योगले मासिक २० करोड रुपैयाँभन्दा बढी महसुल तिर्ने छ ।’

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया