रुसी तेलको मूल्यमा 'क्याप' लागेपछि कच्चा तेल उत्पादनको कटौती कायमै : ओपेक प्लस

 मंसिर १९, २०७९ सोमबार १९:५२:१५ | एजेन्सी
unn.prixa.net

युरोपियन युनियन, जी सेभेन र अस्ट्रेलियाले रुसको समुद्री कच्चा तेलको मूल्यमा 'क्याप' अर्थात् निश्चित मूल्य तोकेपछि ओपेक प्लसले तत्काल उत्पादन नबढाउने भएको छ ।

नोभेम्बर महिनामा दैनिक २० लाख ब्यारेल उत्पादन कटौती गरेको ओपेक प्लसले आउँदो महिनादेखि उत्पादन बढाउने अपेक्षा गरिएकोमा तत्काल कटौतीलाई नै निरन्तरता दिने निर्णय गरेको बीबीसीले जनाएको छ । ओपेक प्लस रुससहित कच्चा तेल निर्यात गर्ने २३ वटा देशको समूह हो ।

ओपेक प्लसले यसअघि कच्चा तेलको मूल्य बढाउन चाहेको थियो । तर युरोपियन युनियन, जी सेभेनमा आबद्ध देश र अस्ट्रेलियाले रुसको समुद्री कच्चा तेलको मूल्य ६० अमेरिकी डलरभन्दा धेरै नहुने गरि क्याप लगाएका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि युरोपियन देशहरूले रुसको आम्दानी घटाउन गरेका विभिन्न प्रयासमध्ये कच्चा तेलको मूल्यमा क्याप लगाउनु पनि एक हो ।

ओपेक प्लसको अर्को बैठक फेब्रुअरीमा मात्रै बस्ने भएको छ । आफ्नो कच्चा तेलको ठूलो परिमाण चीन र भारतमा बिक्री गर्दै आएको रुसले भने क्यापको अर्थ नरहेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

ओपेक प्लसले यसअघिको कटौती परिमाणलाई निरन्तरता दिने र रसियन तेलमा लागेको प्रतिबन्धले विश्व बजारमा कच्चा तेलको मूल्य बढ्न सक्ने जोखिम बढेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० देखि ८६ डलरसम्म रहेको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया