७ दल बने राष्ट्रिय दल : एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउन सकेन

 मंसिर २१, २०७९ बुधबार ७:२७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक करोड पाँच लाख ६० हजार ८२ मतगणना भएको छ । आयोगका अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार तीन सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार तीन सय १४, जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ तथा नेकपा (एकीकृत समाजवादी)ले २ लाख ९८ हजार ३ सय ९१ मत प्राप्त गरेको छ । प्रतिनिधिसभामा कुल १२ दलको प्रतिनिधित्व हुने भएको छ ।

मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना यसअघि नै सकिएको छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, एमालेले ४४, माओवादी केन्द्रले १८ ठाउँमा जितेको छ । त्यस्तै एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७/७ ठाउँमा जितेका छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक/एक ठाउँमा विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवारहरुले पाँच ठाउँमा जितेका छन् । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि प्राप्त मत र भारका आधारमा दलहरुले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारणको तयारी गरेको छ । विवरण अनुसार एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत गरी ७ दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दल बन्न सकेन ।

प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । नेकपा एमाले दोस्रो भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टी पहिलो पटक संसद् प्रवेश गर्दैछन् । निर्वाचन आयोगले आज सम्बन्धित दललाई पत्र पठाउने तयारी गरेको छ । प्रतिनिधिसभातर्फ कूल सदर मतको तीन र प्रदेशसभातर्फ कूल सदर मतको एक दशमलव पाँच प्रतिशत मत ल्याउने दलले थ्रेस होल्ड कटाएको मानी सिट निर्धारण गरिनेछ ।

आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ । आयोगले यही मङ्सिर २६ गतेभित्रमा चुनावी मतपरिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया