मेलम्चीकाे पानी तेस्रो पटक वितरण, उपत्यकावासीका समस्या उस्तै (फोटो फिचर)

 मंसिर २४, २०७९ शनिबार ११:२:० | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - मेलम्चीको पानी काठमाण्डौ उपत्यकामा तेस्रो पटक वितरण भएकाे छ । पानी वितरण सुरु भएसँगै उपत्यकाका विभिन्न धाराहरुमा पानी थाप्न बिहानैदेखि मानिसकाे घुइँचो छ ।

पानी वितरण भएको दिन हिजाे शुक्रवार दिउँसोदेखि नै काठमाण्डाैका सार्वजनिक ठाउँमा रहेका धाराहरुमा पानी थाप्नेहरुको सङ्ख्या उल्लेख्य थियो । प्राय: पानीको हाहाकार हुने काठमाण्डाैमा मेलम्चीको पानी वितरण पछि समस्या समाधान हुने आश उपत्यकावासीले गरेका थिए । तर, मेलम्चीको पानी वितरण भइसके पनि उपत्यकावासीकाे सास्ती भने उस्तै छ । खानेपानी व्यवस्थापनको राम्रोसँग हुन नसके वर्षायाममा पानीकाे झनै समस्या देखापर्ने निश्चित छ ।

अहिले मेलम्चीको पानी महाङ्काल पानी पोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटार नयाँ पोखरीबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिगानी मध्यपुर थिमि नयाँ पोखरीबाट ३० लाख, कटुञ्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगञ्ज पुरानो पोखरीबाट २० लाख, पानी पोखरी महाराजगञ्ज नयाँ पोखरीबाट ४५ लाख, मीनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुने गरेकाे छ।

काठमाण्डाै उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर भए पनि आपूर्ति करिब १२ करोड लिटर मात्रै रहेको थियो । तर शुक्रवारदेखि मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरणसँगै अवस्था केही सहज हुने आशा गरिएकाे छ । 

मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने १७ करोड लिटर खानेपानी पानी भण्डारण पोखरीबाट काठमाण्डाै महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा २४सै घण्टा काठमाण्डाै उपत्यका लिमिटेडले विस्तार गरेको पुरानो पाइपलाइनबाट आलोपालो पानी वितरण हुनेछ ।

तस्बिर : न्युज एजेन्सी नेपाल

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया