भारततर्फ ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् निर्यात

 पुस ५, २०७९ मंगलबार १२:५८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - यस वर्षको ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् १९ जेठ २०७९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ । 

सुरुमा दुईवटा  जलविद्युत् केन्द्रहरुबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत् केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले गएकाे १८ र  ३० कात्तिकबाट थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै आठ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतर्फ निर्यात हुने विद्युतकाे स्वीकृति क्षमता चार सय आठ मेगावाट रहेको छ । 

प्राधिकरणले गएकाे आर्थिक वर्ष २०७८/७९को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ । चालु आव २०७९/८० को ३ पुससम्ममा एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत् निर्यात गरी आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार रुपैयाँ आर्जन गरिएको छ ।  

चिसो बढ्दा काठमाण्डाै उपत्यकालगायतको विद्युत् माग बढेको तर खोलानालामा पानीको बहाव घट्दा  नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरुबाट उत्पादन कम भएसँगै विद्युत् निर्यात बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । 

कार्यकारी निर्देशक घिसिङले देशभित्रको उत्पादन घट्दा हिउँदयामका करिब चार महिनाको विद्युत् माग धान्न भारतबाट विद्युत् आयात गर्नु पर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गर्नुभयो । घिसिङले वैशाख अन्तिम/जेठको पहिलो हप्ताबाट फेरि विद्युत् निर्यात सुरु हुने बताउनुभयो । 

‘देशभित्रको उत्पादन घट्दा आन्तरिक माग धान्न दैनिक रुपमा विद्युत् आयात सुरु भएको छ, विद्युत् आयात करिब ४ महिनासम्म रहने हाम्रो प्रक्षेपण छ, तर विद्युत् आयात परिमाण निर्यातभन्दा कम हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । ‘विगतका वर्षहरुमा विद्युत् निर्यात परिमाण आयातभन्दा कम हुने गरेकोमा यस वर्षबाट निर्यात बढी र आयात कम हुने छ, विद्युत् निर्यात र त्यसबाट प्राप्त हुने रकम दुवैमा हामी खुद निर्यातकर्ता बन्नेछौँ।’ 

प्राधिकरणले आईएक्सको प्रतिस्पर्धी बजारमा विद्युत् बिक्री र खरिद गर्दै आएको छ । ‘आईएक्सबाट मात्र खरिद गर्ने वा उत्पादकहरुसँग छोटो अवधिको विद्युत् खरिद सम्झौता गरी आयात गर्ने भन्ने बारेमा छलफल भइरहेको छ’,उहाँले उल्लेख गर्नुभयो । ‘यसका लागि बजार अध्ययन गरिरहेका छौँ ।’

आईएक्समा विद्युत् खरिदबिक्रीका लागि २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतकाे कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले ३ पुससम्म निर्यात गरेको विद्युतकाे औसत दर प्रतियुनिट  आठ रुपैयाँ २२ पैसा रहेको छ ।  

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया