राजनीतिक दलले आफ्ना मान्छेमात्रै छुटाउन खाेज्दा शाेभराजकाे रिहाइमा ढिलाइ : कानुन व्यवसायी

 पुष ८, २०७९ शुक्रबार १४:३३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कानुन व्यवसायीले 'सिरियल किलर' का रूपमा चिनिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको रिहाइमा ढिलाइ भएको बताएका छन् । 

सर्वोच्च अदालतको फैसलासँगै केन्द्रीय कारगारबाट थुनामुक्त भइ आज शुक्रवार अध्यागमन विभागको जिम्मा लगाइएका शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको छ । यसैबीच शोभराजको पक्षमा वकालत गर्दै आउनुभएकी कानुन व्यवसायी निहिता विश्वासले राजनीतिक गुटबन्दीका कारण उनको रिहाइमा पाँच वर्ष ढिलाइ हुन गएको बताउनुभयो । उहाँले अध्यादेश ल्याउने र आफ्ना मान्छेलाई मात्रै कारागारबाट छुटाउन खोज्ने राजनीतिक खिचातानीको मारमा पनि शोभराज पर्न गएको जिकिरसमेत गर्नुभयो । कानुन व्यवसायी विश्वासले मुटुको रोग लागेका शोभराज कारागारभित्रै निधन हुने देखेपछि पनि अदालतले उनलाई रिहा गर्ने निर्णय लिएको तर्कसमेत गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘मिडियाको कारणले गर्दा अदालतलाई निर्णय गर्न निकै दबाब भइरहेकाे थियाे । यो प्रक्रिया पाँच वर्ष अगाडि नै टुङ्गिनु पर्थ्याे । प्रशासनिक ढिलासुस्ती र सरकार तथा राजनीतिक दलहरूको खिचातानीका कारणले प्रक्रिया लम्बिन गयो । राजनीतिक दलहरूले आ–आफ्नो मान्छेलाई मात्रै निकाल्न खोजेकाले पनि यो प्रक्रियामा ढिलाइ हुन गयो । अध्यादेश ल्याउने र आफ्नो मान्छेमात्रै छुटाउन खोज्दा चार्ल्स शोभराजमात्र नभइ अन्य कैदीबन्दी त्यसका मारमा परेका छन् । यो पालि सर्वाेच्च अदालतले राम्रो साहस देखाएको छ ।’

यसैबीच वरिष्ठ अधिवक्ता रामबन्धु शर्माले शोभराजलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेश सराहनीय रहेको बताउनुभएको छ । शोभराजको पक्षमा वकालत गर्दै आउनुभएका शर्माले शोभराजको रिहा गर्ने सर्वोच्चको फैसलाले मानव अधिकारको सम्मान गरेको र उनी स्वयंले पनि न्याय पाएको प्रतिक्रिया दिनुभयो ।

अध्यागमन विभागले आजै शोभराजलाई फेरि नेपाल फर्कन नपाउने गरी फ्रान्स पठाउने छ । अध्यागमन विभागमा पुग्नुभएकी कानुन व्यवसायी विश्वासले आज राति नै शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको बताउनुभयाे ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया