अफगानिस्तानमा महिलालाई काम गर्न प्रतिबन्ध : ३ वटा एनजीओले काम राेके

 पुस १०, २०७९ आइतबार १९:२२:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

तालिबान सरकारले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा काम गरिरहेका तीन वटा प्रमुख गैरसरकारी संस्था (एनजीओ) ले काम रोकेका छन् ।

अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी काम गरिरहेका केयर इन्टरनेशनल, नर्वेजियन शरणार्थी परिषद् र सेभ द चिल्ड्रेनले संयुक्त विज्ञप्ति निकालेर आफूहरूले महिला कर्मचारीविना आफ्नो काम जारी राख्न नसक्ने बताएका बीबीसीले जनाएको छ । उनीहरूले आफूहरूका महिला कर्मचारीले निर्बाध काम गर्न पाउनुपर्ने बताएका छन् । तालिबानले महिलालाई विश्वविद्यालयमा जान प्रतिबन्ध लगाएको केही दिनपछि हिजो शनिवार गैरसरकारी संस्थाहरूलाई आदेश दिँदै महिलालाई काममा लगाउन प्रतिबन्ध लगाएको हो ।

अफगानिस्तानको अर्थ मन्त्रालयले निकालेको विज्ञप्तिमा सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने महिला कर्मचारीले उचित 'ड्रेस कोड' पालना नगरेको गम्भीर गुनासो आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको उल्लेख छ ।

यसैबीच संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले अफगान महिलालाई काम गर्नबाट नरोक्न तालिबान प्रशासनसमक्ष आग्रह गर्नुभएको छ । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा महिलाले काम गर्न नपाउने तालिबान सरकारको आदेशले आफूलाई चिन्तित बनाएको भन्दै महासचिव गुटेरेसले निर्णयमा पुनर्विचार गर्न अनुरोध गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । महिलालाई काम गर्न नदिने तालिबानको निर्णयले महिला र युवतीलाई मद्दत गर्ने देशभरका धेरै संस्थाको कामलाई कमजोर बनाउने उहाँले बताउनुभएको छ ।

तालिबान सरकारले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएपछि यसको विश्वभरबाट आलाेचना भइरहेकाे छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया