म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीको बाँकी मुद्दाकाे अन्तिम सुनुवाइ आज

 पुस ११, २०७९ सोमबार १५:१३:२६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले जेलमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको रिहाइको माग गरेपछि म्यानमारको अदालतले आज साेमवार बाँकी अन्तिम मुद्दाको सुनुवाइ गर्ने भएको छ । 

सन् २०२१ को फेब्रुअरीमा सेनाले सुकीको सरकार अपदस्थ गरेपछि सुकी जेलमा रहँदै आउनुभएको छ । ७७ वर्षकी सुकीलाई भ्रष्टाचारदेखि अवैधरूपमा वाकिटकी आयात गर्ने र सरकारी गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गरेको १४ वटा अभियोगमा यसअघि नै दोषी ठहर गरिएको छ । अधिकारवादी समूहहरूले यो मुद्दालाई ढोङ्गको संज्ञा दिएका छन् । 

गएकाे बुधवार बसेको संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले म्यान्मारको 'कु' पछिको अवस्थाबारे आफ्नो पहिलो प्रस्तावमा सुकीलाई रिहा गर्न आग्रह गरेको थियो । सुरक्षा परिषद्का स्थायी सदस्य र म्यानमारको सैन्य सरकारका निकट सहयोगी चीन र रुसले पनि भिटो प्रयोग नगरेको यो प्रस्तावले सुकीलाई जेलमुक्त गराउन भूमिका खेल्ने अपेक्षा गरेको सिन्ह्वाले जनाएको छ । म्यानमारको सैन्य सरकारले अर्को वर्ष चुनाव गर्ने तयारी गरेको छ ।      
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया