'एनसेल वुमन आइकन आईसीटी अवार्ड' शिला कंसाकार कार्कीलाई

 पुष १२, २०७९ मंगलबार १३:२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यो वर्षको 'एनसेल वुमन आइकन आईसीटी अवार्ड' शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । गएकाे शुक्रवार काठमाण्डाैकाे द सोल्टी हाेटलमा आयोजना भएको इन्फोडेभलपर्स आईसीटी अवार्डको ग्रान्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आईसीटी अवार्ड २०२२ प्रदान गरिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गर्ने गरिन्छ । वुमन आइकन विजेतालाई एनसेलले तीन लाख रुपैयाँ नगद प्रदान गरेको थियो ।

कार्कीलाई यो अवार्ड नेपाल सरकारका प्रमुख सचिव शंकरदास वैरागी, काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डंगोल र एनसेलका प्रमुख मानव संशाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले संयुक्तरूपमा हस्तान्तरण गरेका थिए । विजेतालाई नेपाल टेलिकमले एक वर्ष इन्टरनेट र ह्वावेले क्लाउड सेवा पनि प्रदान गरेको थियो ।

एनसेलले विगत दुई वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाको योगदानलाई सम्मान र उत्प्रेरित गर्न 'वुमन आइकन आईसीटी अवार्ड' प्रदान गर्दै आएको छ । गएकाे वर्ष नेपालकै पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधानले याे पुरस्कार पाउनुभएकाे थियाे ।  

महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरूले यो क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरूप एनसेलले आईसीटी अवार्डमा आबद्ध भएर यो अवार्ड प्रदान गरिरहेको छ ।

शिला कंसाकार कार्की नेपालको सूचना प्रविधि क्षेत्रको अग्रणी नाम हो । नेपाल प्रहरीमा कम्प्युटर शाखा स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी उहाँ नेपाल प्रहरीकी पूर्वडीआईजीसमेत हुनुहुन्छ । 'सिस्टम एनालिस्ट' को रूपमा प्रहरी निरीक्षकबाट सरकारी सेवा सुरु गर्नुभएकी कार्की आईसीटी क्षेत्रबाट डीआईजीसम्म पुग्ने पहिलो महिला हुनुहुन्छ । 

२८ वर्ष प्रहरी सेवामा बिताउनुभएकी कार्की सूचना प्रविधिमा महिलालाई आकर्षित गर्न र उत्प्रेरित गर्न तल्लिन हुनुहुन्छ । सूचना प्रविधिका विभिन्न सङ्घ–संस्थामा क्रियाशील उहाँले नेपाल प्रहरीलाई डिजिटल युगमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिनुभएकाे छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया