अर्थतन्त्र सुधार्न विज्ञसँग छलफल गर्छु, धेरै मेहनत गर्नुपर्छ : मन्त्री पाैडेल

 पुष ११, २०७९ सोमबार १९:१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सङ्कटको डिलमा रहेको देशकाे अर्थतन्त्रको चुनौतीलाई समाधान गर्ने बताउनुभएको छ । 

आज सोमवार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै पौडेलले चुनौतीको डिलमा रहेको अर्थतन्त्रलाई अर्थ क्षेत्रका विज्ञ तथा सरोकारवाला सबैको राय तथा विश्वको अनुभवलाई समेत लिए समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले चुनौतीपूर्ण रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

अर्थमन्त्री पौडेलले अर्थतन्त्रका चुनौतीको कारण खोजेर, समाधानमा प्रभावकारी संवाद गर्दै पहिचान गरी सामाधान गर्ने भन्दै अर्थ जगतका सबैलाई अर्थतन्त्रका विषयमा चिन्ता नलिन आग्रह गर्नुभयो । उहाँले अर्थतन्त्रमा देखिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणहरू के–के हुन् र समाधानका लागि कस्तो कदम चाल्नुपर्छ भन्ने विषयमा अर्थतन्त्रका जानकारसँग छलफल र सहकार्य गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘अर्थतन्त्र अहिले सङ्कटको डिलमा छ । अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित गर्नका लागि हामीले धेरै मेहनत गर्नुपर्छ । विश्वका अनुभव, नेपालमा विगतमा गरिएका अनुभवका आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता छ । अर्थतन्त्रका जानकारसँग छलफल र सहकार्य गर्दै समस्या पहिचान गर्ने र समाधान गर्ने जिम्मेवारीमा आएको छु । बिग्रँदो अर्थतन्त्रबाट चिन्तित समग्र अर्थ जगतलाई विश्वास दिलाउन चाहन्छु, सबैसँग संवादमा रहेर समस्या पहिचान गर्ने र समाधान खोज्नका निम्ति कार्यसम्पादन गर्नेछु । अर्थतन्त्रका विषयमा चिन्ता नलिन आग्रह छ । अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्न सकिन्छ ।’ 

अर्थमन्त्री पौडेलले सरकारी दर्ता तथा चलानीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णय गर्नुभएको छ । उहाँले अर्थ मन्त्रालयअन्तर्गतका विभाग र मन्त्रालय मातहतका निकायमा अहिले रहेको परम्परागत कार्यसञ्चालन र व्यवस्थापन प्रणालीलाई अनलाइन प्राणालीमा लैजाने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया