चीनमा १६ देखि २४ वर्ष उमेर समूहका झण्डै दुई करोड युवा बेरोजगार

 पुस १२, २०७९ मंगलबार ६:५३:४६ | एजेन्सी
unn.prixa.net

चीनमा १६ देखि २४ वर्ष उमेर समूहका झण्डै दुई करोड मानिस बेरोजगार रहेका एक तथ्याङ्कले देखाएको छ । सहरी युवाको जनसङ्ख्या १० करोड ७० लाख रहेको र त्यसमा झण्डै दुई करोड कामविहीन रहेका चीनको आधिकारिक तथ्याङ्कमा आधारित सीएनएनको अध्ययनले देखाएको हो ।

तथ्याङ्कले ग्रामीण बेरोजगारीलाई समावेश गरेको छैन । चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ । सन् २०२२ को मार्चमा १५ दशमलव ३ प्रतिशत बेरोजगार दर रहेकोमा अप्रिलमा बढेर १८ दशमलव २ प्रतिशत पुगेको छ । त्यस्तै जुलाईमा १९ दशमलव ९ प्रतिशत पुगेकोमा अगष्टमा यो दर केही घटेर १८ दशमलव ७ प्रतिशतमा झरेको छ । तर अझै पनि अहिलेसम्मकै उच्चतम बिन्दुमा रहेको राष्ट्रिय तथ्याङ्क विभागको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

कोभिड–१९ का कारण हुन सक्ने गम्भीर बेरोजगारीका कारण पाँचमध्ये एक जना सक्षम चिनियाँले रोजगारी गुमाएका रिपोर्टमा उल्लेख छ । कोभिड–१९ तथा रूस–युक्रेन युद्धका कारण विश्वव्यापी प्रभाव चीनले पनि बेहोरेको कारण आर्थिक मन्दीको सामना गर्नुपरेको र कम्पनीहरूले आफ्ना कर्मचारीलाई कटौती गर्ने नीतिका कारण बेरोजगारी दरमा वृद्धि भएको हो ।

विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी शाओमीले पनि आफ्ना कर्मचारीलाई कटौती गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया