अर्थतन्त्र नियन्त्रणबाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस् : अर्थमन्त्री पाैडेल

 पुस १२, २०७९ मंगलबार १५:४९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने कुरामा सरकारले ढिलो नगर्ने बताउनुभएको छ । 

आज मङ्गलवार नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घ (सीएनआई) का पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्रले बेहोरिरहेको समस्यालाई लिएर सरकार संवेदनशील रहेको पनि बताउनुभयो । 

अर्थमन्त्री पौडेलले आफूले निजी क्षेत्रका समस्या निजी क्षेत्र नै भएर हेर्ने र निजी क्षेत्रले पनि सरकारको समस्या सरकार भएर हेर्नुपर्ने बताउनुभयो । निजी क्षेत्र र सरकार नदीका दुई किनारा नभइ एउटै नदी प्रणाली भएको उहाँकाे भनाइ छ । मन्त्री पौडेलले निजी क्षेत्रको मनोबल टुटे र निजी क्षेत्रका समस्या समाधान नभए राष्ट्रिय अर्थतन्त्रमा ठूलो धक्का लाग्ने बताउँदै निजी क्षेत्रका समस्या सुन्न राष्ट्र बैंक पनि लागेको बताउनुभयो । निजी क्षेत्रका प्रतिनिधिलाई कमजोर नभइ उच्च मनोबल बनाएर अघि बढ्न उहाँकाे आग्रह छ ।  

मन्त्री पौडेलले भन्नुभयो, ‘सरकार निजी क्षेत्रले बेहोरिरहेको समस्याबारे संवेदनशील छ । सरकार हाम्राप्रति संवेदनशील छ भन्ने सोच्नुहोस् । तपाईंहरू सरकार भएर हेर्नुहोस्, म निजी क्षेत्र भएर हेर्छु । निजी क्षेत्रको मनोबल टुट्यो र समस्या समाधान नभए त्यसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो धक्का लाग्छ । निजी क्षेत्रका समस्या सुन्न राष्ट्र बैंक पनि लागेको छ । मनोबल कमजोर बनाएर होइन, दरो मनोबलका साथ अघि बढ्नुहोला । समस्या समाधान हुनेछन् ।समस्या गम्भीर पनि छन् । नियन्त्रणबाहिर गइसकेको छैन ।’

भेटमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले देशको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिङ्गो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्ने बताउनुभयो । अर्थतन्त्रलाई चलायमान गर्न तत्काल विशेष कदम चाल्न सुझाव दिँदै उहाँले ब्याजदरलाई घटाएर स्थायित्व दिनुपर्ने, तरलताको समस्या समाधान गर्नुपर्ने, लगानी घट्दै गएको अवस्थामा सुधार ल्याउन आग्रह गर्नुभयो ।

भेटमा निजी क्षेत्रका प्रतिनिधिले सिमेन्ट, छड र फलामको बिक्री ह्वात्तै घटेको, दैनिक उपभोग्य वस्तुको खपत पनि घटेको, विद्युतीय उपकरणको बिक्रीमा सङ्कुचनका साथै पुँजी बजारमा समग्रमा ३८ प्रतिशतले गिरावट आएको बताएका थिए ।

निजी क्षेत्रले अर्थमन्त्री पौडेललाई भेट्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर देशको अर्थतन्त्र र निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गरेका थिए ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया