मेस्सी बसेको कतार विश्वविद्यालयको कोठालाई संग्रहालय बनाइने

 पुस १३, २०७९ बुधबार ११:५०:१६ | एजेन्सी
unn.prixa.net

अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बसेको कतार विश्वविद्यालयको एउटा कोठालाई संग्रहालय बनाइने भएको छ । कतारमा भएको फिफा विश्वकप २०२२ का क्रममा मेस्सी बसेको विश्वविद्यालयको कोठा नम्बर बी २०१ लाई सानो संग्रहालयमा परिणत गरिने विश्वविद्यालयको भनाइलाई उद्धृत गर्दै द पेनिन्सुला कतारले लेखेको छ ।

कतार विश्वविद्यालयले अर्जेन्टिनी टिम बसेका कोठाहरुको फोटो सामाजिक सञ्जालमा शेयर गर्दै आएको थियो । त्यही क्रममा मेस्सी बसेको कोठा नम्बर बी २०१ को फोटो शेयर गर्दै त्यसलाई संग्रहालय बनाउने घोषणा गरेको हो । तर त्यो संग्राहलय अहिलेकै अवस्थामा सञ्चालन गर्ने कि क्याम्पस परिसरमा अन्त कतै लिएर राख्ने भन्ने खुलाएको छैन ।

अ‍र्जेन्टिनी फुटबल टाेली महँगा पाँच तारे होटलमा नबसेर कतार विश्वविद्यालयका कोठामा बसेको थियो । डेली मेलका अनुसार आफ्नो पारम्पारिक ‘बिफ बारबिक्यु’ (एक प्रकारको गोरुको सेकुवा) बनाउन सजिलो हुने भएकाले अ‍ेर्जेन्टिनी फुटबल टिम त्यहाँ बसेको थियो । 

विश्वविद्यालयले राखेको एउटा भिडियोमा मेस्सी बसेको कोठामा उनीहरुकै जर्सीको जस्तो सेतो र नीलो रङ्ग लगाइएको छ । यस्तै हलमा विश्वकप विजयी हुँदाका तस्बिरहरु झुण्ड्याइएका छन् । यस्तै जर्सी र खेलाडीहरुका अटोग्राफ लेखिएका छन् ।

फिफा विश्वकप २०२२ काे विजेता अर्जेन्टिना हाे । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना तेस्राेपटक विश्विकप विजेता बनेकाे हाे ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया