चालु पुँजी कर्जा मार्गदर्शन दुई वर्षका लागि स्थगित गर्न महासंघको माग

 पुष १३, २०७९ बुधबार १३:५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासंघले चालु पुँजी कर्जा मार्गदर्शन दुई वर्षका लागि स्थगित गर्न सरकारसँग माग गरेको छ । 

मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीको टोलीले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट्दै चालु पुँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न माग गरेका हुन् । 

महासंघले अर्थतन्त्र संकटमा रहेको अवस्थामा चालुपुँजी कर्जा मार्गदर्शन लागू गर्दा थप समस्या आउने भन्दै तत्कालका लागि स्थगन गर्न सुझाव दिएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थमन्त्री पौडेललाई अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ र अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघका तर्फबाट सुझाव पेस गर्नुभएको छ ।

सुझाव पेस गर्दै अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा चालु पुँजी कर्जा मार्गदर्शन भएको दाबी गर्नुभयो । उहाँले  चालुपुँजी कर्जा मार्गदर्शनलाई कम्तीमा दुुई वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र व्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव दिनुभयो । 

उहाँले देशको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेको भन्दै नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा जोड दिनुभयो । अध्यक्ष गोल्छाले अर्थतन्त्रमा बहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत पनि समस्या सम्बोधन हुन नसकेकाले निजी क्षेत्रमा थप निराशा छाएको बताउनुभयो । 

यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थमन्त्री पौडेले आउने बित्तिकै शेयर बजारमा देखिएको हरियालीले अर्थतन्त्रमा देखिएका समस्या चाँडै समाधान हुने अवस्था देखिएको बताउनुभयो । उहाँले नवगठित सरकारले अर्थतन्त्रमा देखिएका विद्यमान समस्या तत्काल समाधान गरे व्यवसायीहरुको आत्मबल बढ्ने बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रका समस्या समाधान गर्दा मात्रै निजी क्षेत्र उत्साहित हुने र अर्थतन्त्र पनि चलायमान हुनसक्ने बताउनु भयो ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको ब्याजदर उच्च रुपमा बढेको र व्यापार संकुचन भएको कारण पुसमा बुझाउनुपर्ने पैसा व्यवसायीहरुले बुझाउन नसक्ने अवस्थामा रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले पुस मसान्तमा बुझाउनुपर्ने पैसाको लागि ३५ दिनको समय थप गर्न माग गर्नुभयो ।

उहाँले बैंकहरुले कर्जाको तीन किस्ता नतिर्दासम्म कारबाही गर्न नपाउने नियम भएपनि एक महिना नतिर्दा नै कालोसूचीमा राख्ने वा गाडी घर लिलाम बैंकहरुले गर्न लागेको गुनासो गर्नुभयो ।

त्यस्तै महासंघका अर्का उपाध्यक्ष अञ्जन श्रेष्ठले संकटमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि सरकारले तत्काल एक्सनमा जानुपर्ने बताउनुभयो । महासंघले मगलवार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर अर्थतन्त्रका विषयमा जानकारी गराएको थियो । 
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया