खाेकीकाे औषधि खाँदा उज्बेकिस्तानमा बालबालिकाकाे ज्यान गएपछि भारतले अनुसन्धान थाल्याे

 पुस १४, २०७९ बिहिबार २०:४२:१३ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

उज्बेकिस्तानले भारतमा बनेको खोकीको झोल औषधि खाँदा १८ बालबालिकाको ज्यान गएको दाबी गरेसँगै भारतले अनुसन्धान थालेको छ । नोएडाको मेरियन बायोटेकले बनाएको कफ सिरपसँग जोडिएको दाबीबारे भारत सरकारले अनुसन्धान सुरु गरेको बीबीसी हिन्दीले जनाएको छ । 

केन्द्रीय औषधि मानक नियन्त्रण सङ्गठनले जारी गरेको विज्ञप्तिमा यूपी ड्रग्स लाइसेन्सिङ प्राधिकरणले औषधि उत्पादन केन्द्रमा अनुसन्धान गरिरहेको उल्लेख गरेको छ । खोकी सिरपको नमुना लिइएको र चण्डीगढको क्षेत्रीय औषधि परीक्षण प्रयोगशालामा पठाइएको पनि सङ्गठनले जनाएको छ । तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने यो विषयमा उज्बेकिस्तानले आधिकारिक जानकारी नगराएको बताउनुभएको छ । उहाँले अनुसन्धानसँग सम्बन्धित जानकारी लिन कोसिस गरिरहेको पनि बताउनुभएको छ । 

उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले भारतको डोक–१ म्याक्स सिरपलाई १८ जना बालबालिकाको मृत्युको मुख्य कारण भएको जनाएको छ । यो औषधिमा परीक्षणका क्रममा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको पनि त्यहाँको स्वाथ्य मन्त्रालयले दाबी गरेको छ । 

यस्तै यी बालबालिकाले डाक्टरको प्रेसक्रिप्सन एवम् सल्लाहविना नै अधिक मात्रामा औषधि खाएका पनि उज्बेकिस्तानले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले बालबालिकाको ज्यान गएको घटनाको छानबिन र अनुसन्धानका लागि उज्बेकिस्तानलाई सहयोग गर्ने जनाएको छ । 

यसअघि भारतमा बनाइएको खोकीको औषधि खाँदा अफ्रिकी देश गाम्बियामा ७० जना बालबालिकाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया