प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ । तीन/तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्ने गरी अघिल्लो वर्ष मङ्सिरदेखि सुरु गरिएको सर्वेक्षण रोकिएको हो ।
यसरी सर्वेक्षण रोकिनुमा सर्वेक्षणबाट प्राप्त हुने मूल्यको विश्वसनीयतालाई मुख्य कारण मानिएको छ । राष्ट्र बैंकलाई उपलब्ध भएका तथ्याङ्क विश्वास गर्नसक्ने खालको नदेखिएपछि यसलाई निरन्तरता दिन नसकिएको केन्द्रीय बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘सर्वेक्षणका लागि हामीले मालपोत कार्यालयमा भएको कारोबार, बैंकमा धितो प्रयोजनका लागि कायम गरिएको मूल्य र हामीले छनोट गरेका बजार केन्द्रबाट स्वतन्त्ररूपमा प्राप्त गरेको मूल्यलाई आधार बनाएका थियौँ, कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो,‘अहिले घरजग्गा क्षेत्रमा मन्दी देखिँदा यी तथ्याङ्कमा समानता पाइएन । बैंकको धितोको मूल्याङ्कनमा र मालपोतको कारोबारमा मूल्यमा समानता देखिएन, किनबेच हुँदाको मूल्य पनि कतै घट्ने, कतै बढ्ने गरेको देखियो ।’
यसरी मूल्यमा उतारचढाव देखिनुले यो क्षेत्र अझै पनि व्यावसायिक र प्रतिस्पर्धात्मक हुन नसकेको राष्ट्र बैंकको निष्कर्ष छ । खासगरी धितो मूल्याङ्कनका लागि कारोबार मूल्य बढी देखाउने, कर प्रयोजनका लागि मूल्य कम देखाउने तथा परिवारभित्रका सदस्यबीच कारोबार हुँदा एउटा मूल्य कायम गर्ने प्रवृत्तिले यो अवस्था आएको हुनसक्ने डा. श्रेष्ठको भनाइ छ ।
घरजग्गा कारोबारमा मालपोत कार्यालयले कारोबार कर र पुँजीगत लाभकर लिँदै आएको छ । धेरै मूल्य देखाउँदा खरिदकर्ताले तिर्नुपर्ने कारोबार कर बढी हुन आउने र बिक्रेताले तिर्नुपर्ने पुँजीगत लाभकर पनि बढ्ने भएकाले कम मूल्य कायम गरेर जग्गाको कारोबार गर्ने चलन छ । तर बैंकबाट ऋण लिन चाहने वा बैंकको ऋणमै जग्गा किन्नेले भने धेरै मूल्य कायम गरेर जग्गाको कारोबार गर्ने गरेको पाइएको छ । यसले प्राप्त तथ्याङ्कको विश्वसनीयता घटाएको राष्ट्र बैंकको निष्कर्ष छ ।
यसअघि राष्ट्र बैंकले बढी घरजग्गाको कारोबार हुने देशका २० वटा सहरलाई बजार केन्द्र बनाएर सर्वेक्षण सुरु गरेको थियो । सर्वेक्षणमा जमिनको आकार, मोहडा, मुख्य बजारसम्मको दुरी, बस्तीको सम्मिश्रण, बाटोको आकार र भौतिक पूर्वाधारको अवस्थालाई समेत हेरेर मूल्यसम्बन्धी तथ्याङ्क सङ्कलन गरिएको थियो । अहिले विश्वका ६० भन्दा धेरै देशले घरजग्गा कारोबारको नियमित सर्वेक्षण गर्दै आएका छन् । दक्षिण एसियाली देश भारत, श्रीलङ्कादेखि संयुक्त राज्य अमेरिका, टर्की, इन्डोनेसिया, ओमनलगायत देशमा केन्द्रीय बैंकले नियमितरूपमा यस्तो सर्वेक्षण गर्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।