पेलेबारे १० राेचक तथ्य, के पेलेले साँच्चै युद्ध रोकेका थिए ?

 पुस १५, २०७९ शुक्रबार १०:५८:२८ | एजेन्सी
unn.prixa.net

विश्व चर्चित ब्राजिलका फुटबलर पेलेको ८२ वर्षकाे उमेरमा निधन भएको छ । पेलेकाे उपचारका क्रममा साओ पाउलोमा निधन भएको हाे । उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए । 

सन् १९९७ मा खेल जीवनबाट सन्न्यास लिएका पेले अझै पनि विश्वका सर्वाधिक परिचित व्यक्तिमध्ये पर्छन् । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्व कपको उपाधि जिताएका थिए । उनी तीन विश्व कप जित्ने एकमात्रै खेलाडी हुन् । 

२१ वर्षकाे लामाे फुटबल करियरका क्रममा पेलेले एक हजार तीन सय ६३ खेलमा एक हजार दुई सय ८१ गाेल गरेकाे विश्व कीर्तिमान छ । उनलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीकाे पदक दिइएकाे थियाे । 

पेलेबारे १० राेचक तथ्य

 

रेफ्रीले मैदान छाड्नुपरेकाे थियाे 

सन् १९६८ जुन १८ मा बाेगाेटामा पेलेकाे क्लब सान्ताेस एफसी र र काेलम्बियनन ओलम्पिक स्वाडबीच मैत्रीपूर्ण खेल चलिरहेकाे थियाे । 

खेलकाे क्रममा रेफ्रीले पेलेले फउल गरेकाे र आफूलाई अपमान गरेकाे आराेप लगाउँदै मैदानबाट बाहिर जान भनेका थिए । रेड कार्डकाे प्रयाेग सन् १९७० मा सुरु भएकाे थियाे । 

तर रेफ्रीकाे याे निर्णयकाे निकै ठूलाे विवाद भयाे र यसकाे विराेध सुरु भयाे । सान्ताेसका खेलाडीले रेफ्रीकाे निर्णयकाे विराेध गर्दै उनलाई घेरे । खेल हेर्न आएका अरू दर्शकले पनि त्याे निर्णयकाे विराेध गरे । 

पछि सन् २०१० को एउटा अन्तर्वार्तामा ती रेफ्रीले त्याे खेलमा आफूलाई मैदानबाहिर जान लगाई एक लाइन्सम्यानलाई सिट्ठी दिन भनिएको बताए ।

रेफ्री बाहिर गएपछि पेलेलाई तत्कालै खेलमा भित्र्याइएकाे थियाे ।   

के पेलेले साँच्चै युद्ध राेकेका थिए ? 

सन् १९६० काे दशकमा पेलेकाे सान्ताेस एफसी विश्वकाे सबैभन्दा चर्चित फुटबल क्लबमध्ये एक थियाे । यसकाे फाइदा उठाएर याे टिम विश्वरभरमा मैत्रीपूर्ण खेल खेल्ने गर्दथ्याे । 

तिनैमध्येको एउटा खेल युद्ध भइरहेको नाइजेरियामा सन् १९६९ फेब्रुअरी ४ मा भएकाे थियाे । त्याे खेल सान्तोसले स्थानीय टोलीलाई बेनिन सहरमा दुई-एक गाेलले जितेको थियो ।

त्यस समयमा नाइजेरियामा गृहयुद्ध चलिरहेकाे थियाे । इतिहासकार ग्युहरमे गरचेका अनुसार ब्रजिलको टोलीको सुरक्षा सुनिश्चित गर्न त्यहाँको गृहयुद्धमा पक्षबीच युद्धविराम घोषणा गरिएको थियो ।

पेलेले यस कुरालाई आफ्नो दोस्रो आत्मवृत्तान्तमा यसरी उल्लेख गरेका छन्, ‘त्यो कुरा पूरै साँचो हो होइन मलाई थाहा छैन तर नाइजिरियालीहरूले हामी त्यहाँ हुँदा कुनै धावा नबोल्ने सुनिश्चितता गरेका थिए ।’

पेले र बीटल्सकाे कथा

सन् १९७५ मा पेले न्युयाेर्क कसमसका लागि खेल्न अमेरिकाकाे न्युयाेर्क गएका थिए । त्यहाँ उनले अङ्ग्रेजी सिक्न सुरु गर्दा बीटल ब्यान्डका जाेन लेनन जापानी भाषा सिकिरहेका थिए । 

उनको भनाइअनुसार लेनन र बीटल्सका अन्य सदस्य सन् १९६६ मा इङ्ल्यान्डमा खेलिएको विश्व कपका बेला ब्रजिली टोलीलाई होटलमा भेट्न आउन खोजेका थिए । तर उनीहरूलाई ब्राजिल फुटबल एसाेसिएशनका निर्देशकले राेकेका पेलेले आफ्नाे पुस्तकमा लेखेका छन् । 

पेलेले युराेपकाे क्लबका लागि किन खेलेनन् ?

पेलेका आलाेचकहरू उनले कहिल्यै युराेपकाे क्लबका लागि नखेलेर आफ्नाे जीवन सहज बनाएकाे मान्छन् । 

ब्राजिलका अन्य खेलाडीलाई पेलेलाई पनि आफ्नाे महत्त्वपूर्ण समयमा विदेश गएर खेल्न राेक लगाइएकाे थियाे । 

सान्ताेस क्लबले रियल मड्रिड र एसी मिलान जस्ता क्लबकाे प्रस्ताव अस्वीकार गरेकाे थियाे । त्यस समयमा आफू कहाँ खेल्ने भनेर निर्णय गर्ने अधिकार खेलाडीकाे हातमा हुँदैनथ्याे र पेलेलाई ब्रजिलमै राख्न त्यहाँको सरकारको उच्च तहबाट दबाब पनि थियो ।

सन् १९६१ मा त्यहाँका राष्ट्रपतिले पेलेलाई ‘राष्ट्रिय सम्पत्ति’ भन्दै ‘निर्यात गर्न नसकिने’ बताउनुभएकाे थियाे । 

५० वर्षकाे उमेरमा ब्राजिलकाे कप्तान बने

पेले मात्र एक पटक ब्राजिलकाे कप्तान बने । यसअघि उनले क्लब र देश दुवै टिमकाे कप्तानी गर्न अस्वीकार गरेका थिए । 

राष्ट्रिय टिमबाट सन्न्यास लिएकाे १९ वर्षपछि सन् १९९० मा उनले कप्तानका रूपमा एक मैत्रीपूर्ण खेलमा भाग लिए । ब्राजिलले रेस्ट अफ र वर्ल्ड टिमसँग खेलेकाे थियाे । 

याे खेल पेलेकाे ५० औँ जन्मदिनकाे अवसर पारेर खेलाइएकाे थियाे । पेले खेलेकाे पहिलाे ४५ मिनेटका लागि मैदानमा आएका थिए । 

जब पेलेकाे ‘अपहरण’ गरियाे

सान्ताेस क्लबका खेलाडी सन् १९७२ सेप्टेम्बर ५ मा ट्रिनिडाड एन्ड टोबागोमा खेल्दा सन्तुष्ट थिएनन् । 

त्यहाँ आन्दोलन भएको र सडकमा ट्याङ्क देखिएको कुरा खेलाडीहरूले सञ्चारमाध्यमहरूलाई पछि बताएका थिए । उनीहरू सक्दो छिटो खेल खेलेर विमानमा फर्किन सहमत भएका थिए ।

तर त्यस खेलमा पेलेको ४३ मिनेटको गोलपछि दर्शकहरू अनियन्त्रित भए । मैदामै गएर काँधमा पेलेलाई बोकेर सडकमा विजय जुलुस निकाले । उनलाई उद्धार गर्न असहजरूपमा केही मिनेट समय लाग्यो ।

सल्भेस्टर स्टिलोन फिका देखिए

सन् १९८० सम्म सल्भेस्टर स्टिलोन एक चर्चित नाम बनिसकेकाे थियाे । उनकाे फ्लिम 'एस्केप टु भिक्टरी' काे शुटिङ सन् १९८० मा सुरु भएकाे थियाे । याे फ्लिम दोस्रो विश्वयुद्ध ताकाको नाजी-११ र बन्दीहरूको टोलीबीचको खेलको एउटा काल्पनिक कथामा थियाे । 

केही पूर्व फुटबल खेलाडी र त्यही समय खेलिरहेका खेलाडीसँगै पेले पनि त्यसकाे हिस्सा थिए । पेलेले एक सिनमा एक्रोबेटिक बाइसाइकल किक हानेका थिए । 

पेलेले ब्राजिलकाे वेबसाइट यूओएललाई दिएकाे एक अन्तर्वार्तामा त्याे शट स्टिलाेनले हान्नुपर्ने भए पनि उनले नसकेकाे बताएका थिए । 

उनले भने, ‘स्क्रिप्टका अनुसार स्टिलाेनले शट हान्नुपर्ने थियाे र म गाेलकीपर थिएँ । तर उनले बल प्रहार गर्न सकेनन् ।’

पेले गाेलकिपर बनेकाे भए

यदि पेले गाेलकीपर बनेकाे भए पनि उनले सायद निराश गर्दैन थिए । सान्ताेस क्लबका लागि खेल्दै उनले चार खेलमा गाेलकीपरकाे भूमिका निभाएका थिए ।

यसमा सन् १९६४ मा खेलिएकाे ब्राजिलियन कपकाे सेमिफाइनल पनि छ । ब्राजिलले सबै खेल जित्याे । पेलेले कुनै पनि खेलमा एक गाेल पनि हुन दिएनन् । 

एउटामात्रै पेले छैनन्

पेलेका प्रशंसकहरू ‘देअर इज वन्ली वन पेले !’ गीत गाउँदा निकै रमाउँछन् । तर गीतमा भनिए झैँ वास्विकतामा एक जनामात्र पेले छन् भन्ने होइन ।

अफ्रिकाका एक निकै चर्चित फुटबल खेलाडी अवेदी अयु अवेदीले पेलेको रूपमा घाना र कैयौँ युरोपेली क्लबमा खेले । इङ्ग्ल्यान्डमा केप भर्डीका डिफेन्डर पेड्रो मोन्टिरो, जो सन् २००६ मा साउथम्टन गए, उनी समेत बाल्यकालको बोलाउने नाम पेलेकै रूपमा चर्चित भए ।

राष्ट्रपति बन्न चाहन्थे 

सन् १९९० मा पेलेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई देशको सन् १९९४ को चुनावमा राष्ट्रपतिमा प्रतिस्पर्धा गर्न आफूले रुचाइरहेको बताएका थिए । त्यो अवसर कहिल्यै आएन ।

यद्यपि उनी राजनीतिमा प्रवेश गरेर सन् १९९५ देखि सन् १९९८ सम्म ब्रजिलको खेलकुदमन्त्री बने ।

'बीबीसी' बाट

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया