कोरोनाको वास्तविक सूचना दिन चीनसँग डब्ल्यूएचओको आग्रह

 पुस १६, २०७९ शनिबार ८:४८:२९ | एजेन्सी
unn.prixa.net

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चीनलाई कोरोना महामारी तथा सङ्क्रमण अवस्थाबारेको वास्तविक जानकारी दिन आग्रह गरेको छ । सन् २०१९ मा चीनबाट सुरु भएको कोरोना भाइरसबारे यसअघि पनि पूर्ण जानकारी दिन आनाकानी गरेको भन्दै डब्ल्यूएचओले तथ्याङ्क नलुकाउन भनेको छ।

डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन विवरण उपलब्ध गराउन आग्रह गरेको हो । कोरोना रोकथामका विभिन्न प्रतिबन्ध खुकुलो पारेसँगै चीनमा अहिले फेरि कोरोना महामारी बढेको छ । सङ्क्रमण बढ्न थालेको भन्दै डब्ल्यूएचओले चिन्ता समेत व्यक्त गरेको छ ।

डब्ल्यूएचओले खोपको सहजताका बारेमा नियमित सूचना आदान प्रदान भएमा महामारी रोकथाम गर्न सहज हुने अपेक्षा राखेको छ । अमेरिका, फ्रान्स, स्पेन, दक्षिण कोरिया, भारत, इटली, जापान र ताइवानलगायतका देशले चीनबाट आउने यात्रुका लागि कोराना परीक्षण अनिवार्य गरिसकेका छन् । कोरोनाको तीन वर्ष बित्दा पनि विश्वव्यापी रूपमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक सङ्ख्या अस्पष्ट छ ।

विश्वव्यापी रूपमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक सङ्ख्या अस्पष्ट रहेको छ । विभिन्न देशले भिन्नभिन्न रुपमा मापन गर्ने तथा तथ्याङ्क राख्ने कारण सही मापन गर्न कठिन भएको हो।

विज्ञहरूले आधिकारिक रूपमा रिपोर्ट गरिएकोभन्दा धेरैले ज्यान गुमाएको बताउँदै आएका छन् । कोरोनाको पहिलो सङ्क्रमित फेला परेको चीनमा १० लाखभन्दा धेरैको ज्यान गएको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरसको पहिचान भएयता अहिलेसम्म ६६ लाख ५० हजारभन्दा धेरैको ज्यान गएको छ ।

डब्ल्यूएचओका अनुसन्धाताले यसै महिनाको सुरुमा नेचर जर्नलमा सन् २०२० र २०२१ मा कोभिडबाट एक करोड ४८ लाख ३० हजारभन्दा धेरै मानिसको ज्यान गएको उल्लेख गरेका थिए । डब्ल्यूएचओको तथ्याङ्कअनुसार सन् २०२०–२१ मा भारतमा कोभिडका कारण सबैभन्दा बढी ४७ लाख ४० हजार मानिसको ज्यान गएको थियो ।

‘युनिभर्सिटी अफ जेनेभा’को इन्स्टिच्युट अफ ग्लोबल हेल्थका निर्देशक एन्टोनी फ्लाहाल्टले कोभिडका कारण ज्यान गुमाउने यकिन सङ्ख्या पुष्टि गर्नु निकै कठिन अभ्यास रहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया