केही दिन चिसो अझै बढ्ने, आज प्रदेश-१ का पहाडी भेगमा पानी पर्ने सम्भावना

 पुष १८, २०७९ सोमबार ७:२२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - देशभर केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । एक/दुई दिन अझै चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । हिमाली र उच्च पहाडी क्षेत्रको तापक्रम माइनसबाट पनि ओरालो लागेको छ।

जुम्ला, जोमसोम, जिरी लगायतका ठाउँको तापक्रम माइनसभन्दा पनि कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँमा पनि चिसो बढेको छ । हिमाली क्षेत्रका केही ठाउँमा हिमपात भएको छ भने तराई मधेसका धेरै ठाउँमा दिउँसो पनि घाम देखिन छोडेको छ । काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा पनि राम्रोसँग घाम लाग्न सकेको छैन । चिसोसँगै प्रदूषण पनि बढेको छ ।

बिहान र बेलुका चिसो अझै बढ्दा वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी, सुत्केरी लगायतलाई समस्या भएको छ । चिसोकै कारण कतिपय विद्यालय बन्द भएका छन् । चिसो बढ्ने क्रम अझै एक, दुई दिनसम्म रहने जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभएको छ । अहिले हावाको गति उत्तरबाट पश्चिम हुँदै दक्षिणतर्फ रहेकोले हिमालको हावाका कारण र समुद्रको तापक्रम घटेकोले चिसो बढेको उहाँले बताउनुभयो । अहिले समुद्रको तापक्रम बितेको ५० वर्षको तुलनामा कम रहेकोले त्यसको असर नेपालमा पनि देखिएको उहाँले बताउनुभयो ।

डा. उप्रेतीले चिसो बढेकाले बिहानको समयमा सकेसम्म बाहिर हिँडडुल नगर्ने, न्यानो लुगा लगाउने, बिहान बाहिर हिँड्नै परे मास्क लगाउने, आगो ताप्दा झ्याल/ढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र आगो वा हिटर ताप्ने लगायतका काम गर्न अनुरोध गर्नुभएको छ । 

यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ को पहाडी भेगका एक, दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । साथै प्रदेश १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया