पाकिस्तानमा शपिङ मल र बजार राति साढे ८ बजेसम्म मात्रै खुल्ने

 पुस १९, २०७९ मंगलबार १८:४१:५१ | एजेन्सी
unn.prixa.net

ऊर्जा सङ्कट कम गर्न भन्दै पाकिस्तानले नयाँ नियम बनाएको छ । पाकिस्तानका मन्त्री ख्वाजा आसिफले अब सबै शपिङ मल र बजारलाई रातिको साढे ८ बजेसम्म मात्रै खोल्न दिइने बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

यस्तै पार्टी प्यालेसहरू पनि राति १० बजेभित्र बन्द गर्नुपर्नेछ । ऊर्जा र आर्थिक सङ्कटलाई ध्यानमा राखेर नागरिकले अब आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने मन्त्री आसिफले बताउनुभएको छ । साथै सबै सरकारी कार्यालयमा ३० प्रतिशतले बिजुली खपत घटाउन प्रधानमन्त्रीले निर्देशन दिएको पनि उहाँले बताउनुभयो । पाकिस्तानले अब देशभर ५० प्रतिशतमात्रै सडक बत्ती बाल्ने र ब्याट्रीबाट चल्ने मोटरसाइकलमा जोड दिने बताएको छ ।

यस्तै आउँदो साउनदेखि बढी बिजुली खपत गर्ने पङ्खा उत्पादन बन्द गरिने पनि मन्त्री आसिफले बताउनुभएको छ । नयाँ उपायबाट वार्षिक २७ करोड डलर बचत हुने विश्वास गरिएको छ ।

पाकिस्तानले ऊर्जासँगै गम्भीर आर्थिक सङ्कटको सामना गरिरहेको छ । पाकिस्तानको विदेशी मुद्रा सञ्चिति सात अर्ब डलरभन्दा कम भएको छ । यसले पाकिस्तानलाई जम्मा दुई महिनाको आयातमात्रै धान्न पुग्छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया