अनिवार्य काेराेना परीक्षणको विषयलाई लिएर चीन र अरु केही देशबीच मतभेद

 पुस २०, २०७९ बुधबार ९:१५:६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

चीनले आफ्नो देशका यात्रुलाई अनिवार्य काेराेना परीक्षण तथा आगमनमा प्रतिबन्धलाई लिएर असन्तुष्टि जनाएको छ ।

अरु केही देशले काेराेना परीक्षणलाई आधार बनाएर यात्रुको आगमनमा प्रतिबन्ध लगाउन गरेको निर्णय राजनीतिक रुपमा पूर्वाग्रही रहेको चीन सरकारले जनाएको छ । अमेरिका, भारत र बेलायतसहित केही देशले चीनबाट आउने यात्रुका हकमा अनिवार्य काेराेना परीक्षण गराउनुपर्ने नियम लागू गरेका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङ्गले महामारी नियन्त्रणका नाममा अन्यथा गर्ने र राजनीतिक उद्देश्यका लागि कदम चाल्ने प्रयासको चीनले विरोध गर्ने तथा जवाफी कदम चाल्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

काेराेनासम्बन्धी विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदायसँग बेइजिङको मतभेद देखिएको यो पहिलो पटक भने होइन । काेराेनासम्बन्धी प्रतिबन्धात्मक नियम खुकुलो पारेपछि चीनमा अहिले कोरोनाभाइरस सङ्क्रमण बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले चीनलाई सङ्क्रमणको वास्तविक तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्दै आएको छ । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया