नेपालको बिजुली किन्न सहजीकरण गरिदिन भारतलाई बङ्गलादेशको आग्रह

 पुष २२, २०७९ शुक्रबार २०:४१:२ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बङ्गलादेशले नेपालको बिजुली सहजरूपमा आयातका लागि सकारात्मक सहयोग गर्न भारतलाई आग्रह गरेको छ । ऊर्जाको बढ्दो माग तथा सङ्कट समाधानका लागि बङ्गलादेशले सकारात्मक वातावरण बनाइदिन भारतसँग पुनः आग्रह गरेको हो ।

बङ्गलादेशका विद्युत्, ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले भारतका नवीन तथा नवीकरणीय ऊर्जामन्त्री राजकुमार सिंहसँग बुधवार भएको भेटमा नेपालको बिजुली आयातका लागि देखिने गरी सहकार्य गर्न आग्रह गर्नुभएको हो । यसअघि गएकाे सेप्टेम्बरमा पनि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्ना भारतीय समकक्षीसँग त्यस्तै आग्रह गर्नुभएको थियो । 

बङ्गलादेशले अहिले भारतबाट एक हजार एक सय ६० मेगावाट बराबरको बिजुली लगिरहेको छ । भारतीय मन्त्री सिंहले नेपालबाट बङ्गलादेशमा बिजुली आयातका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको बङ्गलादेशका सञ्चारमाध्यमले जनाएका छन् । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने रणनीति तय गरेको छ । 

बङ्गलादेशले सुनकोसी तेस्रो जलविद्युत् आयोजनामा लगानीका लागि चासो व्यक्त गर्दै आएको छ । यस्तै भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्न लागेको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको पाँच सय मेगावाट बिजुली लैजाने बताएको छ । यस्तै गएकाे भदौ ९ गते सम्पन्न नेपाल र बङ्गलादेशको ऊर्जा सचिवस्तरीय बैठकले तत्काल नै नेपालबाट ५० मेगावाट बिजुली लैजाने सहमति जनाएको थियो । 

बिजुली लैजानका लागि भारतीय संरचना प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्ने निर्णयसमेत त्याे बैठकले गरेको थियो । सचिवस्तरीय बैठकले भारतीय भूमि र संरचना प्रयोगका सम्बन्धमा आवश्यक सहमति जुटाउन त्रिपक्षीय छलफल गर्ने सहमति गरेको थियो । 

नेपाल र बङ्गलादेशबीच डेडिकेटेड विद्युत् प्रसारण लाइन निर्माण गर्न भारतको अनुमति आवश्यक छ । बङ्गलादेशले प्रारम्भिक चरणमा ४० देखि ५० मेगावाट बराबरको बिजुली लैजान सकिने बताएको थियो । बङ्गलादेशको भेरामारामा अवस्थित हाई भोल्टेज डाइरेक्ट करेन्ट संरचनाको बाँकी रहेको क्षमता उपयोग गरी नेपालबाट त्यहाँ प्रारम्भिक चरणमा बिजुली निर्यातको मार्ग खोल्ने तयारी गरेको छ । 

विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी व्यापार निगमबीच त्रिपक्षीय समझदारी हुन आवश्यक छ । प्राधिकरण र बङ्गलादेशको बोर्डले भारतीय पक्षलाई अनुरोध गर्ने सहमतिसमेत भएको थियो । 

एनभीभीएन भारतको ऊर्जा व्यापारको 'नोडल एजेन्सी' हो । बङ्गलादेशले अहिले भारतबाट बिजुली लगिरहेको संरचनाले धान्ने बराबरको बिजुली लैजान तयार रहेको जनाएको थियो । 

विद्यमान संरचनाले झन्डै ४० देखि ५० मेगावाटसम्म बिजुली लैजान सकिने देखिएको छ । बङ्गलादेशले कुल छ सय ८३ मेगावाट क्षमताको सुनकोसी तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि सहमति जनाउँदै त्यसका लागि संयुक्त उपक्रममा रहने गरी प्रक्रिया अगाडि बढाइने सहमति गरको छ ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया