ब्राजिलको राष्ट्रपति भवन र संसदमा पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थक छिरे, तोडफोड पनि गरे

 पुस २५, २०७९ सोमबार ८:१२:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकको भिड राष्ट्रपति भवन र संसदमा प्रवेश गरेको छ । बोल्सोनारोका हजारौँ समर्थक संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थामा तोडफोड समेत गरेका छन् ।

ब्राजिल फुटबल टिमको जर्सी लगाएका हजारौँ प्रदर्शनकारीले हातमा झण्डा लिएर संसद् भित्र प्रवेश गरेका र उनीहरुले सभामुखको कुर्सीमा चढेर प्रदर्शन गरेका बीबीसीले जनाएको छ ।  कतिपय संसद्को छतमा चढेका छन् । यस्तै, कतिपयले तोडफोड गरेका छन्, संसद्को झ्याल फुटाइएको छ ।

ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले घटनाको भर्त्सना गर्नु भएको छ । गएको अक्टोबरमा भएको राष्ट्रपतीय चुनावमा बोल्सोनारोलाई लुला डा सिल्भाले पराजित गर्नु भएको थियो । त्यसपछि बोल्सोनारोका समर्थकले चुनावी परिणामहरू अस्वीकार गर्दै आएका छन् ।

यसैबीच घटनाको  अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि भर्त्सना गर्नु भएको छ । यसअघि अमेरिकामा सन् २०२१ को जनवरी ६ तारिखमा यस्तै घटना भएको थियो । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी क्यापिटलमा प्रवेश गरेर हिंसा मच्चाएका थिए । 

तस्बिर : बीबीसी हिन्दी 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया