ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु

 पुस २६, २०७९ मंगलबार १३:१२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।  काठमाण्डाैमा सोमवार आयोजित एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गर्नुभएको हाे । 

प्रधामन्त्री पुष्पकमल दाहालले सरकारको न्यूनतम साझा कार्यक्रममा पनि  दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेण्डाको रुपमा अघि सारेको बताउनुभएको छ । 

उहाँले सरकारका न्यूनतम साझा कार्यक्रममा सुशासन, प्रभावकारी भूमिका प्रवाह, समृद्धिको अभियानमा बाधक रहेका नीति, ऐन र संरचना फेर्ने कुरा, अन्तरनिहीत निकाय समन्वयको प्रभावकारी व्यवस्था र अनुगमन गर्ने लगायतका कार्यक्रम समावेश गरिएको बताउनु भयो । प्रधानमन्त्री दाहालले वित्तीय, मौद्रिक, पुँजीबजर, सहकारी, बीमा र निजी कम्पनीका निकायहरुबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यक, नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

'बैंक मर्जर असाधारण काम हो, यो प्रसंशा योग्य छ । बैंक ठूला हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्नेछ । ठूला बैंकले देशको दूरदराजसम्म नविनतम बैंकिङ्ग सेवा र वित्तीय साक्षरता अभिवृद्धि गर्न काम गर्न जरुरी छ,' उहाँले भन्नुभयो । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले बैंक तथा वित्तीय संस्थाहरु ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत कम हुँदै जाने बताउनुभयो । उहाँले मर्जरले बैंकहरु ठूला बन्दै जाँदा बैंकहरुले स्वनीयमनमा बस्नुपर्ने बताउनुभयो । उहाँले ठूला बैंकले एकल ग्राहक सीमामा आन्तरिक सीमा समेत कायम गरी साना तथा मझ्यौला ऋणिहरुलाई ऋण प्रवाह गर्नुपर्ने समेत बताउनुभयो ।

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली बैंकिङ्ग क्षेत्रका लागि आजको दिन एउटा ऐतिहासिक दिन रहेको बताउँदै यस मर्जरसँगै प्रायजसाे वित्तीय सूचकहरुमा ग्लोबल आईएमई बैंक नेपालको नम्बर वान बैंक बनेको बताउनुभयो । 

अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि ग्लोबल आईएमई बैंकले त्यसलाई पछ्याउँदै अघि बढेको र सरकार तथा नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई कार्यान्वयनमा ल्याउने लिडर रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मर्जरले बैंक सबल बन्ने र सबल बैंकले अर्थतन्त्र सबल बनाउन सहयोग पुग्ने बताउनुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले ग्लोबल आईएमई बैंकलाई सफल मर्जरको लागि शुभकामना व्यक्त गर्दै ग्लोबल आईएमई बैंकको नेतृत्वमा व्याजदर घटाउन पहल गर्न आग्रहसमेत गर्नुभयो । बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले बैंकको पुँजीगत आधार विस्तार गर्दै क्षमता विकास गर्न मर्जरमा गएको बताउनुभयो । उहाँले बैंकिङ्ग क्षेत्रप्रति आम जनताको विश्वास बढ्दै गएको बताउँदै यसले देशको अर्थतन्त्रमा सुधार ल्याउन सकारात्मक भूमिका रहने बताउनुभयो । 

बैंक अफ काठमाण्डूका सञ्चालक तथा संयुक्त मर्जर कमिटिका संयोजक राधेश पन्तले मर्जरको पहिलो सम्झौता भएको ६ महिनाभित्र मर्जर सम्पन्न भएको बताउनुभयो । दुवै बैंकका आआफ्नै विशेषता रहेको बताउँदै उहाँले मर्जरपछि बैंकको व्यवसायको लागत कम हुने बताउनुभयो । 

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने भएका छन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनुहुनेछ । 

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बनेको ग्लोबल आईएमई बैंक लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन् । मर्जर पश्चात् बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब रुपैयाँ, कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५ दशमलव ७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४ खर्ब १२ अर्ब रुपैयाँ, कुल कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ भएको छ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी, शाखा सञ्जाल तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । 

दुई बैंकहरुको मर्जर पश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशमा रहेका सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आईएमई बैंक लिमिटेड देशको सबैभन्दा ठूलो बैंक हुनेछ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया