अमेरिकामा विमान सेवा ठप्प

 पुस २७, २०७९ बुधबार १७:५७:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सङ्घीय उड्ययन प्रशासन (एफएए) को कम्प्युटरमा समस्या आएका कारण आज बुधवार अमेरिकाभरका उडानहरू ठप्प भएका छन् । 

अमेरिकी फ्लाइट ट्र्याकिङ वेबसाइट (फ्लाइटअवेयर) का अनुसार कम्प्युटरमा समस्या भएपछि पूर्वी क्षेत्रमा एक हजारभन्दा बढी उडानहरू ढिलो भएका हुन् । संयुक्त राज्य अमेरिकाको आन्तरिक तथा बाह्य गरी झन्डै एक सयभन्दा बढी उडान रद्द भएका छन् । 

ढिलाइ भएका धेरैजसो उडानहरू पूर्वी क्षेत्रमा केन्द्रित भए पनि पछि उनीहरू पश्चिमतर्फ लागेका फ्लाइटअवेयरले जनाएको छ । अमेरिकी वायु सेवा कम्पनीहरूले कम्प्युटरमा आएको प्राविधिक समस्यापछि उडानमा ढिलाइ भएको सूचना जारी गरेका छन् । 

एफएएले आफ्नो 'नोटिस टु एयर मिसन सिस्टम' लाई पुनः स्थापित गर्न काम गरिरहेको बताएको छ ।

एफएएले भनेको छ, ‘हामी अन्तिम प्रमाणीकरणका लागि परीक्षण गरिरहेका छौँ र सिस्टमलाई 'रिफ्रेस' तथा 'रिलोड' गरिरहेका छौँ । राष्ट्रिय वायु सेवा प्रणाली एक्कासी प्रभावित हुन पुगेको छ ।’ 

एफएएले केही लाइनले काम गर्न थालेका जनाएको छ । तर राष्ट्रिय हवाई क्षेत्र प्रणाली सञ्चालन सीमित भएको छ । 

यातायात मन्त्री पीट बटिजिगले ट्विटरमा एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘म एफएएसँग सम्पर्कमा छु र स्थितिबारे जानकारी लिइरहेको छु । 

युनाइटेड एअरलाइन्सले सबै आन्तरिक उडानमा अस्थायीरूपमा ढिलाइ गरेको र एफएएबाट थप जानकारी पाएपछि अद्यावधिक जारी गर्ने बताएको छ ।

एफएएले ‘नोटिस टु एयर मिसन सिस्टम’को रूपमा चिनिने प्रणालीलाई पुनः स्थापना गर्न काम गरिरहेको बताएको छ । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया