‘कहिले भुवन केसी निस्केला र म अध्यक्ष बनौँ भन्नेहरू धेरै छन्’

 पुस २९, २०७९ शुक्रबार १८:४३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफू चलचित्र विकास बोर्डको अध्यक्ष भएर आएको पाँच/छ महिनामात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासो गर्नुभएकाे छ । शुक्रवार काठमाण्डाैमा भएको चलचित्र निर्माताहरूको वृहत् भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभयाे ।

अध्यक्ष केसीले आफू कुन बेला निस्किन्छ र म चलचित्र विकास बोर्डको अध्यक्ष बनौँ भन्ने लोभ गर्ने मान्छेहरूले काम गर्न नदिएको आराेप लगाउनुभयाे । उहाँले आफ्नो कार्यकालमा चलचित्र विकासका लागि राम्रा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘म त आएको भर्खर पाँच/छ महिना भयो, आएदेखि राम्रा काम गर्छु भनेर लाग्यो के–के भइदिन्छ बीचमा । मुद्दा हाल्नुभएको छ, अदालतमा पनि जानैपर्छ । कोही साथीहरूलाई कुन बेला यो यहाँबाट जान्छ र म आऔँ भन्ने भएको छ । मेरो उमेरमा अरू त रिटार्यमेन्टमा हुन्छन्, म त भर्खर केही गरौँ भनेर आइरहेको छु । विकास बोर्डमा रहेसम्म कलाकारिता क्षेत्रको हक र हितका लागि केही गरेर नै बस्नेछौँ ।’

अध्यक्ष केसीले चलचित्र छायाङ्कनका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै त्यस्ता क्रियाकलाप गर्नेलाई जरिबाना र चलचित्रमा हुने क्षति तिराउने गरी कानुन बनाउन लागिएको बताउनुभयाे । उहाँले पछिल्लो समय नेपाली चलचित्र बनाउन धेरै नै गाह्रो भइरहेको बताउनुभयो । चलचित्र बनाउनका लागि स्टुडियो, प्रहरीको भ्यान लगायतका स्वीकृति लिन नै झन्झट बेहाेर्नुपरेकाे उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘नेपाली फिल्म बनाउन धेरै गाह्रो भइरहेको छ । अनुमति लिन जाँदा चार ठाउँ पुग्नुपर्छ । नेपाली निर्माताहरूले घरखेत बेचेर चलचित्र बनाइरहेका हुन्छन्, अरू कसैले क्यामेरा ल्याएर खिचेर त्यो युट्युबमा हालिदिन्छन् । शुटिङको दृश्य आउट । हलभित्र गएर सिनेमा हेर्छन्, सिनहरू हाल्छन् । कुनै पनि व्यक्तिले यस्तो क्रियाकलाप गर्छ भने त्यसलाई कडाभन्दा कडा सजायमात्रै नभइ जरिबाना र क्षतिपूर्ति पनि तिराउनुपर्छ भनेर माग राखेका छौँ ।’

अध्यक्ष केसीले चलचित्र विकास बोर्डका लागि आवश्यक बजेट सरकारले दिन नसकेको गुनासो गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया