पेरुमा प्रदर्शन उग्र बन्दै गएपछि राजधानी लिमासहितका क्षेत्रमा आपत्काल घोषणा

 माघ १, २०७९ आइतबार २०:१७:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पेरुको सरकारले राजधानी लिमा र अरू तीन क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरेको छ । राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शन उग्र बन्दै गएपछि सरकारले राजधानीसहित आन्दोलन चर्किएका क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरेको एएफपीले जनाएको छ । 

प्रदर्शनका क्रममा सुरक्षा फौजले बल प्रयोग गर्दा ४२ जनाको ज्यान गइसकेको छ । राष्ट्रपतिले ३० दिनका लागि आपत्कालीन अवस्थाको घोषणा गर्दै आन्दोलनमाथि हस्तक्षेप गर्न सेनालाई अधिकार दिनुभएको छ । आन्दोलन र भेलाको स्वतन्त्रताजस्ता धेरै संवैधानिक अधिकारहरू निलम्बन गरेको राष्ट्रपति कार्यालयले प्रकाशन गरेको आदेशमा उल्लेख छ । 

अपदस्थ राष्ट्रपति पेड्रो कास्टिलोका समर्थकहरूले डिसेम्बरदेखि पेरुका सडकमा र्‍याली र नाकाबन्दी गरेका छन् । उनीहरूले बोल्वार्टेको राजीनामा र नयाँ चुनावको माग गरेका छन् । राष्ट्रपति बोल्वार्टेले गए राति टेलिभिजनमार्फत सम्बोधन गर्दै राजीनामा दिन अस्वीकार गर्नुभएको छ । पेरुमा प्रदर्शनकारीहरूले एक सयभन्दा धेरै सडक बन्द गरेका छन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया