मध्य पूर्वका सबैजसो देशमा प्रतिभा पलायनको समस्या अत्यधिक

 माघ ३, २०७९ मंगलबार ७:६:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

मध्यपूर्वका सबैजसो देशहरूले अत्यधिक प्रतिभा पलायनको सामना गर्नुपर्दा देशको चौतर्फी विकासका समस्या रहेको पाइएको छ । उत्कृष्ट र मेधावी विद्यार्थी तथा वैज्ञानिकहरूको ठूलो हिस्साले आफ्नो देश सधैँका लागि छोड्दा ती देशहरुको अनुसन्धान, अर्थव्यवस्था लगायत सुशासनमा समेत समस्या परेको हो ।

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्को, अरब लिग र विश्व बैंकले गरेको अध्ययनले मध्यपूर्व र अरबका विकासशील देशबाट झण्डै एक तिहाइ प्रतिभा पलायन हुने गरेको देखाएको एएनआईले जनाएको छ । संयुक्त अरब इमिरेट्स यूएईका मन्त्रिपरिषद् मामिलामन्त्री मोहम्मद अल गेरगावीले पछिल्ला केही वर्षदेखि अरबका प्रतिभाहरु पश्चिमा देशमा सरेका कारण समग्र अरबको समृद्धिमा समस्या आइरहेको बताउनुभएको छ ।

आफ्नो देश छोड्ने उच्च योग्य र प्रतिभाशाली व्यक्तिहरूमध्ये झण्डै आधा चिकित्सक, २३ प्रतिशत इञ्जिनियर र बाँकी अरु विशेषज्ञता प्राप्त व्यक्ति हुन् । यस्तै विदेशमा अध्ययन गर्ने ५४ प्रतिशत विद्यार्थीहरु स्वदेश नफर्किने गरेको पाइएको छ । विदेशमा पढ्ने धेरैजसो विद्यार्थी स्वदेश फर्किएपछि क्षमता अनुसार काम नपाउने बताउने गरेका छन् ।

बेलायतमा अध्ययन गर्ने विद्यार्थीको ३४ प्रतिशत अरबी विद्यार्थी छन् । इजिप्ट, जोर्डन, इराक, ट्युनिसिया, मोरक्को र अल्जेरियाबाट हरेक वर्ष झण्डै एक लाख वैज्ञानिक, इन्जिनियर र चिकित्सकहरू बेलायत पुग्छन् । अष्ट्रेलिया, क्यानडा, अमेरिका लगायतका देशमा जानेहरुको सङ्ख्या पनि उत्तिकै छ ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया