शेयर बजार सामान्य बढ्यो, ३ अर्ब ४ करोड रुपैयाँको कारोबार

 माघ ५, २०७९ बिहिबार १७:१२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो बुधवार घटेको शेयर बजार आज बिहीवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ७१ अङ्कले बढेर दुई हजार एक सय ७८ दशमलव ८१ विन्दुमा पुगेको छ ।

आज जलविद्युत्, बैंक, निर्जीवन बीमा र म्युचल फन्ड समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर सामान्य घटेको छ । बजार सामान्य बढे पनि कारोबार रकम भने घटेको छ । हिजो झन्डै पाँच अर्ब रुपैयाँको कारोबार भएकोमा आज दुई सय ४६ वटा कम्पनीका ८२ लाख ४७ हजार कित्ता शेयर तीन अर्ब चार करोड ४५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको १८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै आदर्श लघुवित्तको शेयर १० प्रतिशत र मैलुङखोला जलविद्युत् कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया