ग्लोबल आईएमई बैंकले नीलकण्ठ नगरपालिकाका किसानलाई सहुलियतपूर्ण कर्जा दिने

 माघ ६, २०७९ शुक्रबार १०:२०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेड र धादिङकाे नीलकण्ठ नगरपालिकाबीच उद्यमशीलता कार्यक्रमअन्तर्गत नगरवासीलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट मेयर भीमप्रसाद ढुङ्गाना र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले नीलकण्ठ नगरपालिकाको मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम लिएका नगरवासीलाई व्यावसायिक बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, माछापालन, विभिन्न फलफूलको उत्पादनलगायत अन्य लघु उद्यमहरू गर्न नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । 

यो समझदारीले निर्वाहका लागि मात्र कृषि व्यवसाय गरिरहेका किसानलाई उद्यमी बनाउन पुँजीलगायत प्राविधिक सीप आर्जन गरी आफ्नो व्यवसाय विस्तार एवम् विकास गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस अवसरमा बैंकको तर्फबाट वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गरिएको थियो । 

ग्लोबल आईएमई बैंक देशका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया