अर्थतन्त्र सुधार्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक छ : अर्थमन्त्री पौडेल

 माघ ७, २०७९ शनिबार १३:१२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आर्थिक दृष्टिकोणले खडा भएको चुनौतीको सामना गर्दै देशको आर्थिक अवस्था र सामर्थ्यलाई  सुधार गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको बताउनुभएको हो । उहाँले अर्थमन्त्रालय देशको चुनौतीपूर्ण अर्थतन्त्र सुधारको लागि सुशासन,आर्थिक मितव्ययिता,खर्च कटौती, सुविधा कटौती गर्ने अवस्थामा रहेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले बजेटको मध्यावधिक समीक्षा गर्ने बेलामा समेत राजश्व संकलनमा चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको स्वीकार गर्नुभयो । उहाँले गएकाे आर्थिक वर्षमा यही समयमा भएको राजश्व संकलन बराबरको समेत हुन नसकेको बताउनु भयो । उहाँले देशले अन्तर्राष्ट्रिय सहयोग अनुदान तथा ऋण परिचालनमा समेत समस्या रहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले साधरण खर्च लिमिट भन्दा माथि भएको भन्दै पुँजीगत खर्च १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको बताउनु भयो । 

उहाँले बजेटको मध्यावधिक समीक्षा गर्ने बिन्दुमा आइपुग्दा समेत १५ प्रतिशत मात्रै पुँजीगत खर्च हुनु अर्थतन्त्र सुधारको लागि चुनौती देखिएको बताउनुभयो । उहाँले अर्थतन्त्रमा देखिएको चुनौतीलाई सुधार गर्नको लागि खर्च कटौतीका निम्ति, मितव्ययिताका निमित्त कृषि विकास बैंकको व्यवस्थापनको समेत साथ पाउने विश्वास व्यक्त गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया