कर्जा लिएर ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता : गभर्नर अधिकारी

 माघ ७, २०७९ शनिबार १६:३३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताउनुभएको छ ।

शनिवार कृषि विकास बैंकको ५६ औं वार्षिक साधरण सभामा बोल्दै गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रुपमा बैंकबाट लिएको कर्जा तिर्नुपदैन भन्नु अराजकताको माथिल्लो रुप भएको बताउनुभएको हो ।

उहाँले बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर नतिर्ने भनि संगठित रुपमा दबाब दिन नमिल्ने बताउनु भयो । गभर्नर अधिकारीले पछिल्लो समय बैंक तथा समग्र वित्तीय प्रणालीमा नै यस्ता नयाँ किसिमका चुनौतीहरु देखिएको बताउनु भयो । उहाँले बैंकको कर्जा सार्वजनिक सम्पत्ति, सर्वसाधरणको निक्षेप भएको बताउनुभयो । उहाँले वाणिज्य बैंकहरुको अधिकांश कर्जा सर्वसाधरणको निक्षेप भएको भन्दै कर्जा नतिर्दा समग्र वित्तीय क्षेत्रको विश्वसनियता तथा वित्तीय स्थायित्वमा समस्या आउने बताउनु भयो ।

उहाँले व्यवसायी वा उद्यमीले लिएको कर्जा निश्चित समयभित्र तिर्ने स्वीकार गरेर लिएकाले कर्जा नतिर्नु वित्तीय अपराध हुने दाबी गर्नुभयो । गभर्नर अधिकारीले यस्ता अराजक कुरालाई कसैले पनि प्रश्रय दिन नहुने भन्दै राष्ट्र बैंक यो विषयमा शतर्क र सजग रहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता चुनौतीहरुले समग्र बैंकिङ प्रणाली,अर्थतन्त्रमा ठूलो असन्तुलन र व्यथिति ल्याउने बताउनु भयो ।

उहाँले ऋण लिएर तिर्नुपर्दैन भनेर कहीँ कतै विकसित भयो भने बैंकिङ प्रणाली र अर्थतन्त्र कहाँ जान्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले राष्ट्र बैंक यो विषयमा सचेत र शतर्क रहेको भन्दै यस्ता अभियान र संर्घष लामो समय नटिक्ने बताउनु भयो । 

त्यस्तै गभर्नर अधिकारीले बैंकहरुलाई अहिलको आधुनिकयुक्त उपभोक्ताहरुको आवश्यकता पूर्ति गर्नुपर्ने चुनौती रहेको पनि बताउनु भयो । उहाँले २०४५ सालमा सीमित बैंक हुँदा चेक साट्न जाँदा पासबुक बोकेर जानुपर्ने अवस्थाबाट अहिले डिजिटल आधुनिक प्रविधिमा आइपुगेको बताउनु भयो । उहाँले बैंकहरुले अहिलेको आधुनिक प्रविधिमा कहाँ छन् आफैले मूल्याङकन गर्नु आवश्यक रहेको बताउनु भयो ।

उहाँले पछिल्लो समय क्युआरबाट मात्रै ५१ लाख कारोबारमा १९ अर्बको कारोबार हुने गरेको बताउनु भयो । गभर्नर अधिकारीले २५ अर्बको कारोबार क्नेटआइपीएसबाट मात्रै भइरहेको बताउनु भयो । उहाँले नेपाली समाज अहिले त्यो प्रविधिमैत्री बनिसकेको भन्दै बैंकहरुको चुनौति प्रविधिमैत्री नभइ उपाय नभएको बताउनु भयो । उहाँले बैंकहरुले डिम्याट,मेरो शेयरमा मात्रै सिमित रहेर नहुने बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया