रुकुमगाड जलविद्युत् आयाेजना : काम सकियो, परीक्षण बाँकी

 माघ ८, २०७९ आइतबार ११:२०:४३ | रासस
unn.prixa.net

रुकुम - रुकुमपूर्वमा जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजना रुकुमगाड जलविद्युत् आयोजनाको निर्माणकार्य सम्पन्न भएको छ । रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको पाँच मेगावाटको विद्युत् आयोजनाको काम सकिएको हो । अब परीक्षण बाँकी छ । आयोजना निर्माणको जिम्मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिएको थियो ।

आयोजना निर्माणको काम लगभग सबै सकिए पनि पावरहाउसभित्रको थोरै काम बाँकी रहँदा परीक्षणको समय केही पछि धकेलिएको कन्स्ट्रक्सनले जनाएको छ । यही माघको ७ गतेबाट १२ गतेसम्म आयोजना परीक्षण गर्ने भनेर सूचना निकालेको कन्स्ट्रक्सनले इलेक्ट्रोमेकानिकलअन्तर्गतको केही काम बाँकी रहँदा परीक्षणकार्यलाई दुई हप्तापछि धकेलिएको कन्स्ट्रक्सनका वरिष्ठ आयोजना प्रबन्धक रामचन्द्र त्रिपाठीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पवरहाउसभित्रको दुईवटा युनिट, युनिट वान र युनिट टुमा ड्राफ्ट ट्युब फिक्स गर्नका लागि गरिएको कङ्क्रिट ढलानको काम भर्खरै सकिएको र सेट हुन कम्तीमा सात दिन लाग्ने भएको छ । त्यसपछि दुवै युनिटमा इलेक्ट्रोमेकानिकलअन्तर्गतको दुईवटा रनर, दुईवटा सफ्टसिल जोेड्नुपर्ने काम बाँकी हुँदा बाँधबाट पेनस्टक हुँदै पानी भर्ने काम केही समयपछि सरेको छ ।

यति काम सकिएको खण्डमा माघको २० गतेको आसपास आयोजनाको परीक्षण कार्य सुरु गरिने वरिष्ठ आयोजना प्रबन्धक त्रिपाठीले बताउनुभयो । रुकुमगाड जलविद्युत् आयोजनाको लागत खर्च एक अर्ब ३० करोड रुपैयाँको हारहारीमा रहेको आयोजनाले जनाएको छ । सन् २०१८ बाट काम सुरु भएको यस आयोजनाको काम सन् २०२३ को सुरुआतीमा आएर सकिएको छ । 

बीचमा कोभिडको कारण काममा केही असर परेको थियो । रुकुमपूर्वमा उत्पादन गरिएको पाँच मेगावट विद्युत् रुकुमपश्चिमको धैरेनीचौरमा रहेको सबस्टेशनमा जोडेर त्यहाँबाट वितरण गरिने छ । यसको तयारी पनि भइसकेको आयोजनाले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया