जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री किराँती

 माघ ९, २०७९ सोमबार १४:७:१७ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिनुभएको छ । 

आज वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किराँतीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्त्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिनुभएको हो ।

उहाँले निगमका जहाजहरुको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिनुभयो । 'कुन जहाज कतिबेला उडे ? कहाँ रोकिए ? के कारणले रोकिए भन्ने विषयमा विषयमा दैनिक रिपोर्ट चाहियो, म रिपोर्ट नहेरी घर जान्नँ', उहाँले भन्नुभयो । 
'विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्त्व हुन्छ, तोकिएको समयमै जहाज उडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोस्',उहाँले भन्नुभयो। 

मन्त्री किराँतीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि अध्यक्ष अधिकारीलाई निर्देशन दिनुभयो । 'जहाज अब उप्रान्त समयमै उड्नु पर्छ, हिजो के भयो त्यो म हेर्दिनँ, जहाज स्टार्ट भइसक्यो अब रोकिनु हुँदैन', उहाँले भन्नुभयो, 'नकारात्मक काम गर्दिनँ, सकारात्मक काममा सधैँ साथ दिन्छु ।'

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया