तीन सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्छ : गभर्नर अधिकारी

 माघ १०, २०७९ मंगलबार १८:५८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्ने आशय व्यक्त गर्नुभएको छ । 

राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीन वटा वाणिज्य बैंकहरु पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने बताउनुभएको हो ।

उहाँले पछिल्लो समय निजी क्षेत्रका वाणिज्य बैंकहरुको मर्जरले सरकारी बैंक सानो हुन नखोज्दा खोज्दै पनि सानो बन्नुपर्ने अवस्था आएको भन्दै सरकारी बैंकहरुले पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताउनु भयो ।

सरकारले अहिले निजी क्षेत्रका बैंकको मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था नगरेको पनि उहाँले बताउनु भयो । गभर्नर अधिकारीले निजी क्षेत्रका बैंकहरुले अहिलेको व्यवसायिक आवश्यकता बुझेर मर्जर गरिरहनुभएको बताउनु भयो ।

उहाँले सरकारी बैंकहरु अहिलेको व्यवसायिक आवश्यकता बुझ्न पछाडि भएको शंका राष्ट्र बैंकलाई लागेको बताउनु भयो । उहाँले सरकारी बैंकहरुले आवश्यकतालाई महसुस गरेर नेपाल सरकार र तीन वटा सरकारी बैंकहरुबीच छलफल गरेर वास्तविक आवश्यकता हो भने मर्जरका लागि अगाडि बढ्नु उपयुक्त हुने बताउनु भयो । 

उहाँले भन्नुभयो,‘ अहिले वित्तीय प्रणालीमा बैंक छ, घटेका छैनौँ, ठूलै छौँ । विगतको भन्दा तल गएका छैनौँ । अरु बैंकसँग स्वाभाविक रुपमा सानो भएका छौँ । अहिले बैंकहरुको बिग मर्जरको प्रक्रियाले बैंकलाई सानो बन्न नखोज्दा खोज्दै पनि सानो भइरहेका छौँ । बैंक मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था गरेको थिएन । बैंकहरु आफैँले व्यवसायिक आवश्यकता बुझेर मर्जर गरिरहनुभएको छ । कतै सरकारी बैंकहरु यो आवश्यकता बुझ्न पछाडि हुनुहुन्न भन्ने हामीलाई शंका लागिरहेको छ ।’

गभर्नर अधिकारीले बैंकिङ व्यवसाय चुनौतिपूर्ण व्यवसाय भएको बताउनु भयो । उहाँले एउटा बैंकको ६ अर्बको कर्जा ६ महिना उठ्न नसके ३ अर्बको पुँजी व्यवस्था गर्नुपर्ने अवस्था आउने बताउनु भयो । उहाँले राष्ट्र बैंक मुलुकभर बैंकिङ सेवा बिस्तार गर्न लागिरहेको पनि बताउनु भयो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया