पेरुमा निर्धारित समयअघि नै चुनाव गर्ने राष्ट्रपतिको अनुरोध संसदद्वारा अस्वीकार

 माघ १४, २०७९ शनिबार १६:३४:५३ | एजेन्सी
unn.prixa.net

पेरुमा निर्धारित समयभन्दा पहिले नै आम चुनाव गर्न राष्ट्रपतिले गर्नुभएको अनुरोध संसदले अस्वीकार गरेको छ । आउँदोे डिसेम्बरमा आम चुनाव गर्न राष्ट्रपति डिना बोलुआर्टेले गर्नुभएको अनुरोध पेरुको संसदले अस्वीकार गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

राष्ट्रपतिले चुनावका लागि गर्नुभएको प्रस्तावको पक्षमा ४५ र विपक्षमा ६५ मत परेको छ । गएको महिना सदनले सन् २०२६ मा हुनुपर्ने चुनावलाई आउँदो वर्ष अप्रिलमा गर्न सहमति जनाएको थियो । तर पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई पक्राउ गरेपछि देशभर राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै हिंसात्मक विरोध प्रदर्शन भएका छन् ।

सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएका झडपमा ४७ जनाको ज्यान गइसकेको छ । विरोध प्रदर्शनका कारण धेरैजसो सडक बन्द भएका छन् । खाद्यान्न, इन्धन लगायत अरु आधारभूत वस्तुको अभाव भएको छ । पेरुको स्वतन्त्र मानवअधिकार कार्यालयले सडकमा भएको अवरोधका कारण उपचार नपाएर दुई जना शिशुसहित १० जना सर्वसाधारणको ज्यान गएको जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया