बैंकको चर्को ब्याजदरविरुद्ध प्रदर्शन : ‘ब्याजदर घटाउ, गरीखान देउ’

 माघ १६, २०७९ सोमबार १७:५५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको चर्को ब्याजदरविरुद्ध प्रदर्शन गरेकाे छ । सोमवार काठमाण्डाैकाे माइतीघर मण्डलामा महासङ्घले बैंकको चर्को ब्याजदर र आतङ्क गरेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा नेपाल राष्ट्रिय व्यवसायी महासङ्घ, नयाँ बानेश्वर व्यापार व्यवसायी सङ्घ, ललितपुर तयारी पोसाक व्यवसायी सङ्घ, नेपाल कम्प्लेक्स व्यापार सङ्घ लगायतले माइतीघरमा ब्यानर र प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । व्यवसायीप्रति सरकारले विभेदकारी नीति लिएको, बैंक तथा वित्तीय संस्थाले आतङ्क फैलाउँदा पीडित भएकोले सडकमा प्रदर्शन गर्न बाध्य भएको व्यवसायीले गुनासाे गरे । 

महासङ्घका अध्यक्ष कुमार कार्कीले बैंकले व्यवसायीलाई ३५ दिने सूचना दिएर घर लिलामी गर्न थालेकाले लिलामी रोक्न माग गर्दै सडक आन्दोलन गरिएको बताउनुभयो । उहाँले दुई वर्ष अगाडि आठ प्रतिशतमा रहेको बैंकको ब्याजदर १५ प्रतिशतसम्म पुर्‍याएकाले व्यवसायी मर्कामा परेका बताउनुभयो । अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको बेला बैंकले उद्योगी व्यवसायीलाई अपमान गरेको उहाँकाे भनाइ छ । 

अध्यक्ष कार्कीले देशकाे अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका उद्योगी व्यवसायीमाथि राज्य र बैंकले अवहेलना गरेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले बैंकको चर्को ब्याजदर, कालो सूची र धितो लिलामी जस्ता कारणले व्यवसायी दिनप्रतिदिन निरुत्साहित भएका सुनाउनुभयाे । कर्जा तिर्नका लागि समय माग गर्दासमेत बैंकले नदिएको उहाँकाे गुनासाे छ । अध्यक्ष कार्कीले बैंकले धितो लिलामी गरेर हजारौँ व्यवसायीलाई सुकुम्वासी बनाउन खोजेको आरोप लगाउनुभयो । उहाँले महासङ्घले उठाएका माग सम्बोधन नभए चरणबद्धरूपमा आन्दोलन गर्ने बताउनुभयो ।

त्यस्तै महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले सरकारलाई लामो समयदेखि आफ्ना माग सम्बोधन नभए सडक आन्दोलन गर्ने जानकारी गराउँदा समेत व्यवसायीका माग पूरा नगरेकाले बाध्य भएर सडकमा आएको बताउनुभयो । उहाँले बैंकले ब्याजदर बढाएर आतङ्क मच्याएकाले त्याे रोक्नुपर्ने माग राखेर आन्दोलन गरिएको बताउनुभयो । उहाँले बैंकको आतङ्क बढ्दै गएमा सम्पूर्ण उद्योगी व्यवसायीले उद्याेग र व्यवसायकाे चाबी सरकार र राष्ट्र बैंकलाई बुझाउने बताउनुभयो ।सरकारले उद्योगी व्यवसायीलाई समेत राहदानी बनाएर विदेश पठाउने नीति लिएको उहाँकाे आरोप छ । 

त्यस्तै महासङ्घकी उपाध्यक्ष लक्ष्मी खड्काले बैंक र व्यवसायीबीच साथीको सम्बन्ध हुनुपर्ने भए पनि गुण्डागर्दीको सम्बन्ध बनाउन खोजेको आरोप लगाउनुभयो । उहाँले बैंकले २० करोड रुपैयाँको धितोलाई १० करोडमा लिलाम गर्ने प्रवृति लिएको बताउनुभयो ।

राष्ट्रिय व्यापार सङ्घका अध्यक्ष सरोजकुमार श्रेष्ठले बैंकको उच्च ब्याजदरको कारण व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको गुनासाे गर्नुभयाे । उहाँले बैंकको चर्को ब्याजदर सरकारले नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । 

विराेध प्रदर्शनमा व्यवसायीले बैंकिङ आतङ्क बन्द गर; बैंक सधैँ नाफामा, उद्योगी व्यवसायी घाटामा; गरिखाने मर्दैछ, सरकारको राजस्व घट्दै छ; बैंकिङ ब्याजदर एक अङ्कमा ल्याउ; ब्याजदर घटाउ, गरीखान देउ; उद्योग व्यापार बचाऔँ, राष्ट्रिय अर्थतन्त्र उठाऔँ; स्व. प्रेम आचार्यका माग सम्बोधन गर; व्यावसायिक वातावरण कायम गर; उद्योगी, व्यवसायीलाई आत्महत्या गर्न बाध्य नपार; सहज व्यावसायिक वातावरण कायम गर लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया