राष्ट्रपति चुनाव र गृह मन्त्रालयको विषयमा ओली र लिङ्देनसँग प्रधानमन्त्रीको छलफल

 माघ १८, २०७९ बुधबार ११:५२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग आज छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच गृह मन्त्रालयको जिम्मेवारी तथा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको थियो भने त्यसअघि राप्रपाका अध्यक्ष एवं उपप्रधान तथा ऊर्जा मन्त्री लिङ्देनसँग पनि कुराकानी भएको थियो । 

राष्ट्रपति चयनको विषयमा माओवादी र एमालेबाट फरकफरक धारणा आइरहँदा पछिल्लोपटक गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा पनि सत्ता साझेदार दलहरुबीच विवाद बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी आफ्नै दलले पाउनुपर्ने माग गरेर हिजो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग अलग अलग छलफल गर्नुभएको थियो ।

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको चेतावनी छ भने सर्वोच्च अदालतबाट पूर्ण फैसला नआउँदासम्म गृह आफैंसँग राख्ने प्रधानमन्त्रीको योजना छ । सर्वोच्चको फैसलाअनुसार पुनः नागरिकता लिएका लामिछानेलाई गृह मन्त्रालय दिन एमाले पनि सहमत छ, तर राहदानीको विषय टुंगोमा नपुग्दासम्म मन्त्रालयको जिम्मेवारी नलिन लामिछानेमाथि दबाब बढेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया