मन्त्रीहरूले सङ्घीयताविरुद्ध बाेले स्वीकार्य हुँदैन : शक्ति बस्नेत

 माघ १८, २०७९ बुधबार १६:१४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले मन्त्रीहरूले संविधानको मूल्य र मान्यता विपरीत टिप्पणी गरे स्वीकार्य नहुने चेतावनी दिनुभएको छ । सरकारका केही मन्त्रीहरूले सङ्घीयताविरुद्ध अभिव्यक्ति दिइरहेका बेला उहाँको यस्तो यस्तो धारणा राख्नुभएको हो । 

बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बस्नेतले मन्त्रीहरूलाई संविधानको मूल्यभन्दाबाहिर गएर अभिव्यक्ति दिने काम फेरि नगर्न सचेत गराउनुभयो । उहाँले सरकार संविधान कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा रहेका मन्त्रीहरूले त्यस्ता खालका गल्ती गर्न नहुने बताउनुभयाे । 

सांसद बस्नेतले भन्नुभयो, ‘संसदमा यो विषयमा बहस एक हदसम्म स्वीकार्य पनि छ । सडकमा यसको बहस एक हदसम्म स्वीकार्य पनि होला । हरेकले आ–आफ्नो मूल्य र मान्यतालाई स्वीकार गरेर अघि बढ्लान् । सरकार संविधानको कार्यान्वयन गर्ने संस्था हाे र मन्त्रिपरिषद्का सदस्यले संविधानकाे मूल्यभन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य हुन सक्दैन । यस्ता प्रकारका गल्तीहरू आउँदा दिनमा नहून् ।’

सांसद बस्नेतले राजनीतिक दलहरूलाई आ–आफ्नो दृष्टिकोण स्थापित गराउने छुट भए पनि सरकारमा रहेका मन्त्रीहरूलाई जथाभाबी बोल्ने अनुमति संविधानले नदिएको पनि स्मरण गराउनुभयो । उहाँले परिवर्तनकारी शक्तिहरूलाई स्वीकार गर्ने आँट नहुँदा देशमा व्यवस्था परिवर्तन भए पनि नागरिककाे अवस्थामा भने परिवर्तन आउन नसकेको दाबीसमेत गर्नुभयो ।

यस्तै नेकपा एमालेका सांसद रघुजी पन्तले संविधानका आधारभूत विषयमा सरकारका मन्त्रीहरूबीच मत बाझिन नहुने र सार्वजनिक विवाद देखिन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया