त्रिभुवन विमानस्थलको सुधार चित्त बुझ्दो छैन, अझै प्रयत्न गर्नुहोस् : मन्त्री किराँती

 माघ २१, २०७९ शनिबार १२:१३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्तबुझ्दो नभएको बताउनुभएको छ । शनिवार आज बिहान विमानस्थलको अनुगमन गर्न पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले तुलनात्मक रुपमा विमानस्थलको सुधार हुँदै गए पनि चित्तबुझ्दो रुपमा सुधार हुन नसकेको भन्दै अझै कार्यक्रम अघि बढाउन निर्देशन दिनु भएकाे छ । उहाँले यसअघिको अनुगमनमा निर्देशन गरिएका कुराहरु चित्तबुझ्दो रुपमा कार्यान्वयन नभएको बताउनु भयो । उहाँले आजको अनुगमनमा ट्रलीमा ब्रेक नभएको पाइएको भन्दै तत्काल त्यसलाई सुधार गर्न निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो, ‘तुलनात्मक रुपमा सुधार छ तर चित्तबुझ्दो रुपमा सुधार छैन । हिजो निर्देशन गरिएका कुराहरु सम्पूर्ण रुपमा पूरा गर्न र ट्रलीमा ब्रेक छैन, तुरुन्त त्यसलाई सुधार गर्न निर्देशन गरिसकेको छु । बाँकी जति पनि त्रुटि देखेको छु, सम्बन्धित निकायमा कडाइका साथ अझै सुधारका लागि निर्देशन गर्नेछु । सुधार गर्नुपर्ने धेरै कुरा छ।’

मन्त्री किराँतीले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्नुभएको थियो । गएकाे माघको पहिलो हप्ता विमानस्थलको अनुगमन गर्दै मन्त्री किराँतीले शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित बनाउन निर्देशन दिनुभएको थियो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया