किसान राेइरहेका छन्, बिचाैलियालाई जेल चलान गरियाेस् : ज्ञानेन्द्र शाही

 माघ २२, २०७९ आइतबार १७:२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तरकारीको बिक्री वितरणमा संलग्न बिचौलियाहरूलाई तत्काल जेल चलान गर्न सरकारसँग माग गर्नुभएको छ । प्रमुख सचेतक शाहीले नेपाली किसानलाई आत्महत्या गर्नबाट जोगाउन भन्दै बिचाैलियाहरूलाई तत्काल हतकडी लगाएर जेल चलान गर्न कृषि मन्त्री ज्वालाकुमारी साहसँग माग गर्नुभएको हो । 

आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले भारतबाट आयात हुने तरकारीमा प्रतिबन्ध लगाउन पनि सरकारलाई दबाब दिनुभयो । नेपालमा व्यापार नभएर आत्महत्या गर्न बाध्य भएका किसानलाई राहत दिन पनि सरकारले भारतबाट आयात हुने तरकारीमा प्रतिबन्ध गराउनुपर्ने उहाँको तर्क थियो । 

प्रमुख सचेतक शाहीले भन्नुभयो, ‘मैले हिजो एउटा किसान चितवनमा रोइरहेको देखेको छु । हजारौँ किसान आज सडकमा आएका छन् तर हामी रोस्ट्रममा बसेर खोक्रा भाषण ठोकिरहेका छौँ । हाम्रो नीति कहाँ छ ? माननीय कृषि मन्त्रीलाई आग्रह गर्दछु– भारतबाट आउने तरकारी बन्द गर्नुस् । बारीमा जाउँ भविष्य छैन, खाडी जाउँ उमेर छैन । आज नेपाली किसानले आत्महत्या गर्न बाध्य भएका छन् । चितवन यो काठमाण्डाैकाे रोस्ट्रमभन्दा १३७ किलोमिटर टाढा छ । तर आज चितवनमा टमाटरको मूल्य आठ रुपैयाँ किलोमा बिक्री हुन्छ तर त्यही टमाटर आज हामी काठमाण्डाैमा ६० रुपैयाँ किलोमा खान बाध्य छौँ । तत्काल कृषि मन्त्रीज्यूलाई मेरो अनुरोध छ, आग्रह छ– यी बिचौलियालाई हतकडी लगाएर थुनियोस् र यिनलाई बन्द गरियोस् । अनिमात्रै नेपाली किसानलाई आत्महत्या गर्न बाध्य बनाउने बाटो बन्द हुन्छ । नेपालका किसानले भारतमा तरकारी बेच्न नपाउने अवस्था छ । त्यसको अन्त्य गरियोस् ।’

चालु आर्थिक वर्षको छ महिनामा १० अर्ब ११ करोड २२ लाख रुपैयाँको हरियो तरकारी आयात गरिएको उल्लेख गर्दै प्रमुख सचेतक शाहीले नेपालको ठूलो धनराशी यसरी खेर गइरहेको बताउनुभयो । उहाँले एसियामा नै कहलिएका ४४ वटा उद्योग कहाँ गयो भनी सरकारलाई प्रश्न गर्नुभयो । सरकारले चर्को ब्याजदर असुली गरेका कारण साना किसानले आत्महत्या र आत्मादाहको बाटो रोज्नु परेको उल्लेख गर्दै उहाँले यस्तो अवस्था आउन नदिने गरी सरकारले ब्याजदर निर्धारण गर्नुपर्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया