अर्थतन्त्रका सूचकहरू सुधार हुँदै, शोधनान्तर स्थिति ९७ अर्ब बचतमा, विदेशी विनिमय सञ्चिति १३ खर्ब ३७ अर्ब रुपैयाँ पुग्यो

 माघ २३, २०७९ सोमबार १६:२१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थतन्त्रका सूचकहरू सुधार हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज साेमवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार शाेधनान्तर बचत, विदेशी विनिमयको सञ्चिति, रेमिट्यान्स लगायतका सूचकमा सुधार भएको छ ।  

छ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको छ महिनामा शोधनान्तर स्थिति दुई खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको थियो । यस्तै गएको असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति अहिले १० प्रतिशतले बढेर १३ खर्ब ३७ अर्ब २९ करोड  रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गएको असारमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा आठ प्रतिशतले बढेर १० अर्ब ३० करोड डलर कायम भएको छ । यो रकम १० महिना चार दिनको वस्तु आयात र नौ महिना एक दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । ।

यस्तै चालु खातामा पनि सुधार आएको छ । पुस मसान्तसम्म चालु खाता २९ अर्ब ४७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको छ महिनामा चालु खाता तीन खर्ब ५२ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको थियो ।

प्रत्यक्ष वैदेशिक लगानीमा भने ठूलो गिरावट आएको छ । अघिल्लो वर्षको छ महिनामा ११ अर्ब रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएकोमा अहिले ७४ करोड ९४ लाख रुपैयाँमात्रै आएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया