टर्की भूकम्प : १७ सय जनाभन्दा धेरैकाे ज्यान गयाे

 माघ २३, २०७९ सोमबार २०:३:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : सिन्ह्वा

टर्कीमा गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा एक हजार सात सय ९७ जना पुगेको छ । अहिलेसम्म भूकम्पको केन्द्रविन्दु रहेको टर्कीमा एक हजार १४ जना र र छिमेकी देश सिरियामा सात सय ८३ जना गरी कम्तीमा एक हजार सात सय ९७ जनाको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ ।

भूकम्पका कारण भत्किएका संचरनाको भग्नावशेषमा खोजी भइरहेकोले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुवै देशमा गरी छ हजार जनाभन्दा धेरै घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र घाइतेहरूको विवरण सङ्कलन गर्ने काम भइरहेको सीएनएनले जनाएको छ ।

टर्कीमा स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो १ बजेर २४ मिनेटमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । दिउँसोको भूकम्पले खोजी र उद्धारमा थप समस्या भएकाे छ । अरू कैयौँ परकम्पहरू गइरहेका बीबीसीले जनाएको छ ।

टर्कीले राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । यसैबीच अमेरिकाले विपद्का विवरणबाट आफू चिन्तित रहेको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले कसरी मद्दत पुर्‍याउन सकिन्छ भनेर विश्लेषण गर्न देशको अन्तर्राष्ट्रिय सहायता निकायलाई निर्देशन दिनुभएको बीबीसीले जनाएको छ । युरोपेली सङ्घले टर्कीमा खोजी तथा उद्धार टोली पठाइरहेको जनाएको छ । बेलायत र रोमानियाका खोजी तथा उद्धारकर्ताहरू उद्धार कार्यमा सघाउन निस्किसकेका छन् । फ्रान्स र जर्मनीसहितका देशले सहयोग गर्ने बताएका छन् ।

टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो । सन् १९९९ मा उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजार जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया