नेपाली इन्जिनियरले बनाएका सफ्टवेयरलाई सरकारले प्राथमिकता दिन सकेन : चन्द्र ढकाल

 माघ २४, २०७९ मंगलबार १५:५७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली प्रविधिलाई प्राथमिकता दिन नसकेको बताउनुभएको छ ।

मङ्गलवारदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपाल प्रविधि तथा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढिसकेको भए पनि सरकारले नेपाली इन्जिनियरहरूले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको उल्लेख गर्नुभयो । उहाँले नेपाली इन्जिनियरहरूले बनाएका प्रविधि विदेशीको तुलनामा कम नरहेको बताउनुभयो । नेपालले प्रविधिको क्षेत्रमा विश्वका जुनसुकै देशसँग पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपाल आईटी वा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढिसकेको छ । नेपाली आईटी इन्जिनियरहरूले तयार गरेको सफ्टवेयर विश्वको कुनै पनि विदेशी आईटी कम्पनीको तुलनामा कमी छ भन्ने मलाई लाग्दैन । नेपाली उत्पादनमा १५ प्रतिशतसम्म बढी मूल्य दिन सक्ने भन्ने किसिमको नीति रहेको छ । त्यही अनुरूप सरकारले आन्तरिक प्राविधिक उत्पादनलाई प्राथमिकता दिनुपर्छ ।’ 

वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनै पनि क्षेत्रको विकास हुन सम्भव नरहेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ २७, २०७९

तपाईको प्रतिक्रिया