बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
ललितपुर – सरकारले सन् २०२६ सम्म पस्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्यसहित 'पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति' सार्वजनिक गरेको छ ।
मङ्गलवार ललितपुरमा भएको एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सन् २०२६ सम्म पस्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्यसहित 'पस्मिमिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति' योजना सार्वजनिक गर्नुभएको हो । निजी क्षेत्रको आपूर्ति क्षमता अभिवृद्धि गर्ने तथा हिमाली च्याङ्ग्रा पस्मिनाको निर्यात बढाउन र पस्मिना उत्पादनलाई विश्व बजारमा पुर्याउने उद्देश्य सरकारको रहेको छ ।
'राष्ट्रिय पस्मिना क्षेत्र निर्यात रणनीति' उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवर्धन केन्द्र (टीईपिसी) तथा नेपाल पस्मिना उद्योग सङ्घ (एनपीआईए) सँगको सहकार्य र युरोपियन युनियनको सहयोगमा सञ्चालित ईयू नेपाल व्यापार तथा लगानी कार्यक्रम (टीआईपी) अन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा रहेको छ । कार्यक्रममा बोल्दै उद्योग मन्त्री भण्डारीले याे योजनाले पस्मिना उद्योगको विकास र विस्तारमा ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँले नेपालमा पहिलो पटक नेपाली च्याङ्ग्राको ऊनलाई प्रशोधन गरी पस्मिनाको धागो उत्पादन गर्ने कारखाना बन्न लागेको भन्दै नेपाली च्याङ्ग्राको ऊनले उचित मूल्य पाउने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री भण्डारीले नेपालभित्र पस्मिनाको धागो उत्पादन गरी पस्मिनाजन्य वस्तुको उत्पादन र गुणस्तर बढ्ने बताउनुभयो । उहाँले रणनीति योजनाले पस्मिना क्षेत्रले भोगिरहेको समस्या र चुनौतीको समाधान गरी पाँच वर्षभित्र लक्ष्यअनुसार निर्यात गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै उद्योग सचिव मधुकुमार मरासिनीले च्याङ्ग्राको ऊन उत्पादन बढाउन हिमाली जिल्लामा च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले च्याङ्ग्रा पालनमा किसानलाई प्रोत्साहन गर्दा स्थानीयस्तरमा रोजगारीको सिर्जना हुने र किसानले उचित मूल्य पाउने बताउनुभयो । नेपालमा च्याङ्ग्राको ऊन ठूलो परिणाममा उत्पादन गर्न नसकिएको उहाँले गुनासाे गर्नुभयाे ।
सचिव मरासिनीले निर्यातजन्य वस्तुको उत्पादन वृद्धिका लागि प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै मन्त्रालयले त्यहीअनुसार योजनाहरू बनाइरहेको पनि सुनाउनुभयाे । उहाँले निर्यातजन्य नेपाली वस्तुको पहिचान गर्नसके मात्रै पनि विदेशमा निर्यात गरेर धेरै विदेशी मुद्रा आर्जन गरी व्यापार घाटा कम गर्न सकिने उल्लेख गर्नुभयो ।
त्यस्तै नेपाल पस्मिना उद्योग सङ्घका अध्यक्ष विजय दुगडले पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति योजना निजी क्षेत्रका लागि प्रभावकारी हुने बताउनुभयो । उहाँले यो रणनीति योजनाले पस्मिना उत्पादनमा बढी प्राथमिकता दिने बताउनुभयो । अहिले नेपालमा पस्मिनाकाे धागो पूर्णरूपमा विदेशबाट आयात हुने भन्दै अध्यक्ष दुगडले अब नेपालमा नै च्याङ्ग्राको ऊन प्रशोधन गरेर पस्मिनाकाे धागो नेपालमा नै बन्नु सकारात्मक पक्ष भएको बताउनुभयो ।
अध्यक्ष दुगडले आफ्नो प्रशोधन कारखाना राखेर, आफ्नै कच्चा पदार्थ उद्योगमा प्रयोग गर्दा किसानले राम्रो मूल्य पाउने दाबी गर्नुभयो । उहाँले नेपालले अन्तर्राष्ट्रिय बजारको १ दशमलव ५ प्रतिशत र नेपालको मात्रै २ दशमलव ७ प्रतिशत पस्मिनाकाे निर्यात गरिरहेको बताउनुभयो । उहाँले नेपालमा ५० लाख पिस पस्मिना उत्पादन क्षमता भए पनि अहिले २० देखि २५ लाख पिस मात्रै उत्पादन भइरहेको बताउनुभयो ।
मङ्गलवार नै पस्मिना प्रशोधनका लागि ललितपुरकाे हरिशिद्धिमा पस्मिना फाइबर प्रशोधन केन्द्रको शिलान्यास भएको छ । नेपालले सन् २०२१ मा दुई अर्ब ५३ करोड रुपैयाँ (झन्डै एक करोड ९३ लाख अमेरिकी डलर) बराबरको पस्मिना सल निर्यात गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।