आजदेखि दाङ–काठमाण्डाै सुतेर यात्रा गर्न सकिने सुविधासहितको बस सञ्चालन

 माघ २५, २०७९ बुधबार ७:२०:५ | हेमराज शर्मा
unn.prixa.net

दाङ– आजदेखि दाङ–काठमाण्डाै सुतेर यात्रा गर्न सकिने सुविधासहितको बस सञ्चालन हुने भएको छ । यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै दाङदेखि काठमाण्डाै रात्री सेवामा ‘स्लीपर एसी’ बस सञ्चालन हुन लागेको हो ।

त्रिसिद्धेश्वरी राप्ती यातयात प्रालि तुलसीपुर दाङले पहिलो पटक भरे बेलुकादेखि यस्तो सुविधाको बस संचालन गर्ने जनाएको छ । साविक राप्ती अञ्चलमा यस्तो सुविधा भएको बस भित्रिएको पहिलो पटक हो । भारतबाट ल्याइएका यी बस आजदेखि नियमित रुपमा चल्ने प्रालिले जनाएको छ । 

दाङदेखि काठमाण्डौसम्म आरामदायी यात्रा गर्न सुत्न मिल्ने सिट रहेका चार वटा एयर सस्पेन्सन स्लीपर बस सञ्चालन गर्ने प्रालिका अध्यक्ष सुरेश हमालले बताउनुभयो । बसमा ४० सिट छ । ती मध्ये ८ वटा सुतेर यात्रा गर्न मिल्ने र ३२ सिटहरु बसेर यात्रा गर्न मिल्ने रहेका छन ।

दाङदेखि काठमाण्डौसम्म सिटमा बसेर यात्रा गर्नका लागि यात्रुले १ हजार ८ सय रुपैयाँ र सुतेर यात्रा गर्न चाहाने यात्रुले २ हजार रुपैयाँ भाडा तिनुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले यस्ता सुविधा भएका चार वटा बस ल्याइएको छ । दुई वटा बस दाङ–काठमाण्डौ तथा दुई वटा बस दाङ र भारतको दिल्ली चल्ने छन् ।

यस्तो सुविधा भएको एउटा बसको मूल्य ८० लाख रुपैयाँ भन्दा धेरै परेको राप्ती यातयात प्रालिले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया