लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा सदस्य उप–चुनाव हुँदै

 माघ २५, २०७९ बुधबार ८:३४:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा सदस्य उप–चुनाव हुँदैछ । घोराहीको कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

राष्ट्रिय सभा सदस्य पदका लागि सत्तारूढ एमालेका तर्फबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ ।

तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिए पछि लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य पद रिक्त भएको हो ।

राष्ट्रिय सभा सदस्य चुनावमा लुम्बिनी प्रदेशमा रहेका पालिकाका प्रमुख–उपप्रमुख र प्रदेश सभा सदस्य गरी ३ सय ५ जना जनप्रतिनिधिले मतदान गर्नेछन् । जसमा २ सय १८ जना पालिकाका प्रमुख/उपप्रमुख र ८७ प्रदेशसभा सदस्यहरू रहेका छन् ।

पालिका र प्रदेश सभा सदस्यको मत भार छुट्टाछुट्टै गणना हुन्छ । पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मत भार १८ र प्रदेश सभा सदस्यको मत भार ४८ छ । लुम्बिनी प्रदेशमा पालिका र प्रदेश सभामा गरी का‌ंग्रेसको कुल मतभार २ हजार ९ सय ५२ छ ।

त्यस्तै एमालेसँग २ हजार ५ सय ९८, माओवादीसँग १ हजार १ सय ६६ राप्रपासँग २ सय ४६, जनता समाजवादी पार्टी जसपासँग २ सय ५२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग २ सय १६ मतभार छ ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीसँग १ सय ९२, जनमत पार्टीसँग १ सय ४४, राष्ट्रिय जनमोर्चासँग १ सय २०, एकीकृत समाजवादीसँग ४८, जनता प्रगतिशील पार्टीसँग ३६ र स्वतन्त्र २ सांसदको मत भार ९६ छ । मतभार अनुसार सत्तारूढ गठबन्धनका उम्मेदवारको जित निश्चित जस्तै छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया