टर्की भूकम्प : ज्यान गुमाउनेकाे सङ्ख्या ९ हजार नाघ्याे

 माघ २५, २०७९ बुधबार १४:४५:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : सिन्ह्वा

टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ९ हजार नाघेको छ ।

टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ९ सय ५७ रहेको छ । सिरियामा ज्यान गुमाउनेकाे सङ्ख्या पुष्टि गर्न गाह्राे भइरहेकाे छ तर सरकारी सञ्चारमाध्यमहरूले झन्डै २५ सय जनाकाे ज्यान गुमाएका उल्लेख गरेको बीबीसीले जनाएकाे छ ।

सहायता संस्थाहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताइरहेका छन् । ज्यान गुमाउनेकाे सङ्ख्या अझै बढ्न सक्ने बताइएकाे छ ।

उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले अघि बढाउन विश्वका विभिन्न देशले सहयोगी टोली परिचालन गरेका छन् । टर्कीका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय कर्मचारी भूकम्प प्रभावित ठाउँमा परिचालन भएका बताएका छन् । झन्डै छ हजार भवन भत्केकाले सबै ठाउँमा सहायता परिचालन गर्न कठिन भएको छ । सोमवार र मङ्गलवार कठ्याङ्ग्रिने चिसो तथा बारम्बारको पराकम्पका कारण उद्धार तथा राहतका कामलाई द्रूत गतिमा सम्पादन गर्न हम्मेहम्मे परेको थियो ।

युरोपेली सङ्घ, सङ्घमा आबद्ध १३ देशले राहत सामग्रीसहितको उद्धार टोली परिचालन गरेका छन् । मङ्गवार टर्की र सिरियाका भूकम्प पीडितका लागि चीन, भारत, जापान, फिलिपिन्स, अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशले आर्थिक एवम् भौतिक सहयोगको घोषणा गरेका थिए ।

टर्कीमा सोमवार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७ दशमलव८ म्याग्निच्युड र त्यसकाे केही घण्टापछि ७ दशमलव ५ म्याग्निच्युडकाे भूकम्प गएकाे थियाे । 

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले देशकाे दक्षिण क्षेत्रका १० वटा प्रान्तमा सङ्कटकाल घाेषणा गर्नुभएकाे छ । याे सङ्कटकाल तीन महिनाका लागि हाे ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया