चलचित्र क्षेत्रकाे विकास गर्न भनेर 'रिटायर्ड' हुने बेलामा जागिर खान आएको छु : अध्यक्ष केसी

 माघ २६, २०७९ बिहिबार १९:३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको बताउनुभएको छ । बिहीवार काठमाण्डाैमा चलचित्र प्राविधिक सङ्घको आयोजनामा भएको ११ औँ नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष केसीले चलचित्र विकास बोर्ड नेपाली चलचित्र अन्तर्राष्ट्रियस्तरमा चलोस्, कला–संस्कृति विश्वमा फैलियोस्, भाषा र चलचित्रको माध्यमबाट नेपाली पर्यटन क्षेत्रमा पनि टेवा पुगोस् भन्ने हेतुले लागिपरेको जिकिर गर्नुभयाे । उहाँले चलचित्र क्षेत्रको विकास गर्न भनेर नै आफू रिटायर्ड हुने बेलामा जागिर खान चलचित्र विकास बोर्ड आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपाली चलचित्र अहिलेसम्म विकास नहुनुको खास कारण भनेकाे २०२६ सालमा बनेकाे चलचित्र ऐन अहिलेसम्म चलिरहनु हाे । त्यसको संशोधन हुन नसक्नु हो । अब पनि यो ऐन पास भएन भने चलचित्र विकासले फड्को मार्न सक्दैन । चलचित्र विकास र प्रवर्धनका मरिमेटेका छौँ । चलचित्र क्षेत्रकै विकासका लागि रिटायर्ड हुने बेलामा जागिर खान आएको छु ।’ 

अध्यक्ष केसीले चलचित्र प्राविधिक सङ्घले नेपाली चलचित्रको विकास र प्रवर्धनका लागि नेफ्टा अवार्ड अमेरिकामा गर्न लागेको भन्दै त्यहाँ गएर कार्यक्रम गर्नु नै फलामको चिउरा चपाए सरह रहेको टिप्पणी गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया